बूढीगण्डकी जलविद्युत छिट्टै निर्माण हुने : अध्यक्ष दहाल



धादिङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत परियोजनाको कामले अब छिट्टै गति लिने बताएका छन् ।

सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा आज उदघाटन गर्दै उनले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक फड्को मार्ने परियोजना भएको हुँदा मुआब्जाको काम सकिएकोले काम छिट्टै हुने बताए ।

जलविद्युत परियोजनाका प्रभावितको पुनर्वासको विषयमासमेत छलफल भएको बताउदै उनले यसबाट आर्थिक विकास र पर्यटन विकासमा देशलाई ठूलो फाइदा पुग्ने दाबी गरे । पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा त्रिशूली र मस्र्याङ्दीमा समानान्तर राजमार्ग बनाउन सरकार लागि परेको उनको भनाइ थियो ।

निजी, सार्वजनिक र सहकारीको विकास गर्दै समृद्धि हाँसिल गर्न सकिने धारणा व्यक्त गर्दै उनले ल्हसाबाट काठमाडौं , पोखरा हुँदै लुम्बनी रेलमार्ग बनाइने प्रतिबद्धता व्यक्त गरे । हालको अवस्थामा निजी क्षेत्र पनि उत्साहित भएको बताउँदै उनले विदेशी लगानी भित्रिए मात्र नेपाल प्रगतितर्फ अग्रसर हुने धारणा व्यक्त गरे ।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेपाङ, मगर, लामा, झाँकी प्रस्तुत गरिएको थियो । कूल १५५ कक्ष रहेको महोत्सवले ५ करोडको कारोवार गर्ने छ भने महोत्सवमा २ लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । धादिङमा उत्पादन भएका राडीपाखी, ढाका, हस्तकला, तथा रेशम आदि सामाग्रीको प्रदर्शनी गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्