बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल



लन्डन : बेलायती प्रधानमन्त्री थेरेसा मेविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । 

हाउस अफ कमन्समा लामो छलफलपश्चात् बुधबार राति भएको मतदानमा प्रधानमन्त्रीको पक्षमा ३ सय २५ र विपक्षमा ३ सय ६ मत परेको थियो । प्रधानमन्त्री मे विरुद्ध ल्याइएको यो पहिलो अविश्वास प्रस्ताव थियो । 

गत मङ्गलबार ब्रेक्जिट अनुमोदनसम्बन्धी मतदानमा सरकारको पक्षमा २ सय २ र विपक्षमा ४ सय ३२ मत परेको थियो । इयूसँग भएको ब्रेक्जिट सम्झौतालाई बेलायती संसदले अनुमोदन गर्नुपर्ने प्रावधान छ । 

संसदमा अविश्वास प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री थेरेसा मेले विभिन्न दल र पक्षसँग छलफल सुरु गरेकी छन् । उनले भनिन्- वार्ताहरु निकै रचनात्मक ढङ्गबाट अगाडि बढेका छन् र हामीले कुनै पनि स्थितिमा समाधान खोज्नै पर्छ। 

लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग भने प्रधानमन्त्रीको भेटवार्ता भएको छैन । कोर्बिनले ब्रेक्जिट सम्झौता फिर्ता नलिएसम्म प्रधानमन्त्रीसँग वार्ता गर्नुको कुनै अर्थ नभएको बताएका छन् । 

युरोपेली कूटनीतिज्ञहरुले ब्रेक्जिट सम्झौता लागू हुने दिन अति नजिक आइसकेकाले पुनः छलफल गरी संसदबाट अनुमोदन गर्न सम्भव नभएको बताएका छन् । उनीहरुले ब्रेक्जिट सम्झौता स्थगन हुन सक्ने अनुमान गरेका छन् । 

प्रधानमन्त्री मेले बुधबार संसदमा मुख्यगरी दुईवटा विषयमा सांसदको ध्यानाकर्षण गरेकी थिइन् । तिनीहरुमा इयूबाट हुने आप्रवासन र स्वतन्त्र व्यापार नीति थिए। दुवै बुँदा लेबर पार्टीको सिद्धान्तविपरीत छन् । 

प्रधानमन्त्री मेले ब्रेक्जिट कार्यान्वयनमा ढिलाई गर्न चाहेमा इयूका सबै २७ मुलुकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । तर उनले ब्रेक्जिट कार्यान्वयनमा ढिलाइ नगर्ने दृढता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्