ढुंगाको मायाले जङ्गलमै बितेको जीवन



सेतो कपाल, च्याउरिएका गाला, उमेरले अधबैसे उमेर ढपक्कै ढाकेको आँखैबाट छुट्टिन्छ ६३ वर्षीय नन्दबहादुर फगामी मगरको । ३३ वर्षदेखि जङ्गलमा नै बसेर जङ्गलकै काठ, दाउरा र ढुंगा मुढा उनका दैनिकी सहयात्री बन्दै आएका छन् ।

बुढेसकालले छोप्दै लगेपनि नन्दबहादुरलाई जङ्गलको गोठ छाडेर गाउँमा रहेको घर फर्किन कत्ति पनि मन छैन । पर्वतको उत्तरमा पर्ने हम्पालको जङ्गलमा रहेको ढुंगाले छाएको गोठमा बस्दै आउनु भएका फगामीलाई ३३ वर्षदेखि जङ्गलको भन्दा ढुंगाको मायाले घर फर्कन दिएको छैन । जङ्गलमा उनको एउटा मात्रै घर छ ।

हम्पालको तल्लो भेगमा ढुंगा निकालेर जीविकोपार्जन गर्दै आउनुभएका फगामी भने– ‘ढुंगाले तानेर युवा अवस्थामा नै जङ्गलमा ल्यायो, यसकै मायाले जङ्गल छाड्न सकिन ।’

पर्वतको जलजला गाउँपालिका वडा नं ६, ७ र ९ को शिरमा पर्ने हम्पाल क्षेत्रमा घर छाउन प्रयोग हुने ढुंगाका विशाल खानी छन् ।
माटे, जलजलामा स्लेट जस्तै पातलो ढुंगाहरु पाइन्छन् । एउटै ढुंगा अन्न सुकाउने मान्द्रो जस्तै ठुलो आकारमा निकाल्न सकिने भएकाले टाढा टाढाका मानिसहरु ढुंगा किन्न आउँथे । ढुंगाको व्यापार राम्रो देखेपछि नन्दबहादुरले पनि गोठमा बसेर ढुंगा निकाल्न थाले ।

पहिले गाई, भैसीपाल्न र आलु लगाउन बनाइएका खर्कहरु प्रशस्त भएकाले उनले पनि २०४० सालमा ३ हजार ७ सयमा एउटा खर्क किनेका थिए । त्यही खर्कमा ढुंगा निकाल्दा सामुदायिक वनदेखि सरकारी वनले पनि उनलाई अवरोध गर्न सक्ने कुरै भएन ।

त्यस बखत कास्कीको सल्यान, दाङ्गसिङ्ग, पर्वतको बाजुङ्ग, शालिजा, बनौ, लेखफाँट, मल्लाज, दुर्लुङ्ग, देउपुर, देउरालीसम्म उनको खानीमा ढुंगा लिन आउथे । ‘ढुंगा बिक्रीबाट राम्रो कमाइ भएपछि गाउँ छाडेर यही बसेको हुँ’ उनले भने, ‘अहिले ढुंगाको माग घटेपनि जङ्गल छाडेर जान सकिएको छैन’

घर, गोठ छाउने ढुंगा बिक्री गरेरै उनले ५ जना छोराछोरी हुर्काए । छोरीहरुको बिहे भयो, छोराहरु जलजला ९ बनौ गाउँमा रहेको घरमा झरिसकेका छन् । उनी र श्रीमती भने जङ्गलकै बीचमा रहेको गोठमा रमाएका छन् ।

आलु र तोरी लगाउने र ढुंगा निकालेर उनले अहिले पनि हातमुख जोडका छन् । शुरुमा ९ रुपियाँमा एक हात ढुंगा बिक्री गर्थे भने पछिल्लो समयमा एक हात ढुंगाकै ३ हजारसम्म मूल्यमा बेचेको अनुभव छ ।

टिनको पाताभन्दा पनि ठुला ढुंगा निस्कन्छन् । त्यसलाई बजारमा पु¥याउने हो भने घर छाउने मात्रै होइन मार्बलको सट्टा प्रयोग गर्न पनि सकिन्छ । तर, यसतर्फ कसैले ध्यान नदिएका उनको भनाइ छ ।

जङ्गलको बीचमा बाघ, भालु, मृगसँग मितेरी गाँसेर बसेका फगामी अब भने ढुंगा बिक्री नहुने तथा निकाल्न पनि बुढ्यौलीका कारण नसक्ने अवस्थामा छन् । जङ्गलमा एकान्तमा बस्दा पनि कुनै कुराको डर भने उनलाई छैन । खुसीसाथ जङ्गलमै बस्दै आउनुभएका फगामी भने, ‘ढुंगाकै मायाले यहाँसम्म आए, माया मारेर गाउँ झर्न भने सकिन्न ।’ (सन्तोष थापा–इन्सेक)

प्रतिक्रिया दिनुहोस्