वातावरण विभागले पाँच चार्जिङ स्टेशन निर्माण गर्ने



काठमाडौं : काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । 

पछिल्लो समयमा नागरिकले विद्युतीय सवारी साधनको प्रयोगमा चासो देखाएको भएपनि चार्जिङ स्टेशनको अभावमा समस्या पर्दै आएको छ । विभागले सरोकार भएका सबै पक्षको सहयोगमा उपयुक्त स्थानमा त्यस्तो स्टेशन राख्ने भएको छ । 

 

पहिलो चरणमा साझा यातायाताको परिसरमा एक स्टशेन तत्काल जडान गरिने छ । सबै प्रकारका सवारी साधनलाई चार्ज गर्न मिल्ने चार्जिङ स्टशेन सुन्दर यातायातले उपलब्ध गराएको छ । सुन्दर यातायातले उपलब्ध गराएको सोही स्टशेनबाट विद्युतीय सवारी साधानको प्रवद्र्धन गरिनेछ । 

 

सुन्दर यातायातले प्रवद्र्धन गरेको उक्त मेशिनले आधुनिक तथा सानाठूला सबै प्रकारका सवारीलाई उपयुक्त हुने साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए । 

उक्त मेशिन आधुनिक, छरितो र नेपालको विद्युत् भोल्टेजसँग मिल्दो रहेको र सबै प्रकारका विद्युतीय सवारी साधनलाई उपयुक्त रहेको बताइन्छ । 

 

विभागका महानिर्देशक झलकराम अधिकारीले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन जडानको प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले उपयुक्त स्थानको खोजी एवं पहिचान गरी चालु आवभित्रै पाँच ठाँउमा विद्युतीय चार्जिङ स्टशेन जडान गरिने जानकारी दिए । 

 

चार्जिङ स्टेशनसम्बन्धी आधारभूत अवधारणापत्र व्यवसायी र सरोकार पक्षसँग छलफल गरी शीघ्र तयार पारिने महानिर्देशक अधिकारीको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले यस अघि नै प्रवद्र्धनात्मकरूपमा प्राधिकरणको केन्द्रीय कार्यालय र एनइए इञ्जिनियरीङ कम्पनीको कार्यालय थापाथलीमा जडान गरेको छ । 

 

तर हालसम्म कानूनी आधार तयार हुन सकेको छैन । चार्जिङ स्टेशनमा सवारी चार्ज गर्दा के कति शुल्क तिर्ने, कस्तो स्थानमा उक्त प्रणाली जडान गर्ने, त्यसको सुरक्षा तथा सञ्चालनको ढाँचा के कस्तो हुने भन्ने बारेमा आवश्यक निर्णय भएको छैन । 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक तयारीको क्रममा नै रहेको जनाएको छ । प्राधिकरणले कानूनी संरचना तयार गर्न मन्त्रालयलाई यसअघि नै आग्रह गरिसकेको छ । 

स्वतन्त्र ऊर्जा, उत्पादकहरूको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले कानूनी आधार तयार पारिदिए निजी क्षेत्रले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन एकाध महिना भित्रै जडान गर्न सकिने बताए । उनले प्राधिकरणको प्रसारण प्रणाली देशभर नै पुगेकाले स्टेशन बनाउन कुनै समस्या नभएको इपानको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्