रञ्जु दर्शनाको चरित्र हत्या आरोपमा अर्का पत्रकार पनि पक्राउ



काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक र नेता रञ्जु दर्शनाका बारेमा भ्रामक समाचार लेखेको आरोपमा अर्का पत्रकार पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्यापिटल हेडलाइन डटकमका सम्पादक सुमन अधिकारी छन् । 

गोरखाको गण्डकी गाउँपालिका–३ निवासी २७ वर्षीय सुमन अधिकारीलाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको हो । 

गत शुक्रबार पार्टीबाट छुट्टिएलगत्तै विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसँग जोडेर आएका समाचारले चरित्र हत्या भएको भन्दै रञ्जुले आइतबार पाँचवटा अनलाइनविरुद्ध अपराध महाशाखामा उजुरी दिएकी थिइन् ।

यस अघिपनि रञ्जु दर्शनाका बारेमा भ्रामक समचार प्रकाशन गरेको भन्दै प्रहरीले मुक्ति मिडिया प्रा.लि. र नेपाल डक डटकम अनलाइनका संचालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ का श्याम रोकालाई पक्राउ गरेको थियो । 

पक्राउ परेकालाई विद्युतीय अपराधअन्तर्गत अनुसन्धान भइरहेको महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्