नातिनीसहित बुहारी हत्या आरोपमा दुईजना पक्राउ



जनकपुरधाम : विष खुवाएर बुहारी र नातिको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

 

जनकपुर उपमहानगरपालिका–४ बस्ने समीर मिश्रकी २५ वर्षीया श्रीमती सीमा शर्मा र उनकी दुई वर्षीया छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सीमाका ससुरा श्यामसुन्दर मिश्र र सासू किरण मिश्र भएकाे प्रहरीले जनाएकाे छ ।

 

सीमाका माइतीले उनी र उनीकी छोरी गौरीलाई घर पक्षले विष खुवाएर हत्या गरेको आरोप लगाएका छन् । घर पक्षले दाइजोका लागि सीमालाई दुःख दिनेगरेको माइती पक्षको भनाइ छ । घटनापछि सीमाका श्रीमान् समिर मिश्र फरार छन । सीमा र गौरीलाई विष खुवाएर समिर फरार भएको माइती पक्षको आरोप छ ।

 

विष सेवनका कारण सीमाको मृत्यु भएको र गौरीको पनि उपचारका क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका पहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन् । उनले घटनाको गहन अनुसन्धान भइरहेको बताए । ‘आत्महत्या गर्न उकसाएको भए पनि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्