जब ड्रोनले एउटी बच्ची लिएर आयो



भगवान घिमिरे

यतिबेला म आफ्नै गाउँमा छु र आज गाउँका बचपनका भाइसाथीहरुसँग यसो निस्दी खोलाको किनारतिर घुम्न निस्केको, खोला निकै उर्लेर आएको रहेछ ।

शायद लेकतिर ठुलै पानी दर्किरहेको छ जो, कोहीलाई खोला तर्न मुस्किल छ । हामी त्यही खोलाको किनारको हरियो चौरमा गफ गरेर बस्यौं । हामीले विभिन्न रमाइला गफगाफ गरिरहेकै बेला एउटा ड्रोन परबाट हामी भएमाथि हुत्तिदै उड्दै आयो । ड्रोनले केही पार्सल जस्तो ठूलो प्याकेट समेत झुण्ड्याएको थियो ।

हामी अचम्म पर्यौं, कि नेपालको गाउँ घरको आकाशमा पनि यसरी ड्रोन उड्न थालेको देखेर । कतै अनलाइन मिडिया हरुमा त पढेको हो कि युरोप लगाएतका बिकशित देशहरुमा पिज्जा लगाएतका खानेकुराहरू अर्डर गरिएको लोकेसनहरुमा मान्छेले पुर्याउनु नपर्ने, ड्रोनले नै डेलिभरी गर्ने समाचारहरू । अनि हाम्रै नेपाल र अन्य देशहरुमा पनि अरु प्रयोजन जस्तो ठूलो मासमा भिडियो खिच्न, सर्भे गर्न अनि कतै दुर्गम क्षेत्रमा हवाई दुर्घटना भयो भने ड्रोनमार्फत खोजी गर्ने गरेको पनि थाह थियो । तर यहाँ न त्यस्तो दुर्घटना,न कुनै सम्मेलन थियो न त यो दुर्गम क्षेत्र नै हो ।

यति सोच्न र कुरा गर्न नभ्याउँदै त्यो ड्रोन त हामी बसेको सिधा माथि रोकिएर स्थिर रह्यो । अनि हाम्रो सातोपुत्लो उड्यो । कतै हामी माथि बम खसाल्ने त हैन भनेर अनि हामी जर्याक जुरुक उठेर सतर्क भयौं । तर त्यो ड्रोन त्यहाँबाट करिब १०० मीटर पर हुत्तिएर गयो र खोलाको बगरमा खस्यो अनि झन् हामी अचम्मित भयौं र त्यतै दौड्यौं । त्यो ड्रोन दुर्घटना भएको ठाउँमा पुग्दा त झन् हामी तीन छक पर्यौं । त्यहाँ त सोच्दै नसोचेको कुरा देख्यौं । त्यो ड्रोनले त त्यो प्याकेटमा एउटी सानी ४र५ महिनाकी बच्चीलाई ल्याएको रहेछ । कहाँबाट कसरी यो मान्छेको बच्चालाई त्यहाँ ल्याएर खसाल्यो हामीले केही सोच्न सकेनौं ।

बच्ची सकुशल थिई तर रोइरहेकी थिई । ऊ निकै माया लाग्दी र राम्री थिई । हामी ड्रोन कतै पड्कने या बिस्फोट हुने हो कि भनेर अलिक सतर्क पनि भयौं र त्यो बच्चीलाई त्यहाँबाट उठायौं । दुनियाँमा सोच्दै नसोचेको यो घटना आज हाम्रो आँखा अगाडि घटेको देख्दा हामी यति अचम्म पर्यौं कि त्यो बताई साध्य छैन ।

यत्तिकैमा हाम्रो ग्रुपमा रहेको एक जना भाइ खुशीले उफ्रँदै ‘भगवानले मेरो लागि यो बच्ची पठाइदिएको हो, अब म यो बच्चीलाई छोरी बनाएर माया दिएर पाल्छु,’ भनेर काखमा लिएर म्वाइ खायो र छातीमा टाँस्यो ।

उसको बिहे भएको धेरै वर्षसम्म पनि सन्तान भएको थिएन । फिल्मी शैलीको यो दृश्यले हामी पनि एकछिन भावविह्वल भयौं र त्यहाँबाट पहिले बसेको चौरतिर लाग्दा खोला पारीबाट रजघरातिर मिलमा धान कुटाउन र बजार गर्न गएका केही महिला र केटाकेटीहरू चिच्याउँदै हामीलाई खोलो तार्न बोलाए ।

हामीले त्यो बच्ची एक जना अलिक सानो भाइलाई हामी नआइञ्जेल राम्रोसँग राख्नु भनेर दियौं र अरु तीन जना कपडा खोलेर खोलामा पस्यौं । खोला अलिक धमिलो र बढेकोले बाकटे खियाएर पारि तर्यों । एक एक गर्दै तिनीहरुका समान सहित सबैलाई तार्यों अनि पहिले बसेको चौरमा आयौं ।

चौरमा आइपुग्दा त त्यो भाइको काखमा बच्ची छैन । ‘खोइ त बच्ची ?’ भनेर सोधेको त कतैबाट दुई जना बाटो हिंड्ने पाको उमेरका आइमाई र लोग्ने मान्छे आएर उसलाई फकाएर ५० हजार दिन्छौं तिमीहरू बाँडेर लिनु यो बच्ची हामीलाई दिनु भनेछन् । अनि ऊ त मक्ख परेर पैसा देखेपछि त्यो बच्ची बेचिदिएछ ।

हामी उसलाई कुट्न जाइलाग्यौं । हाम्रो मन थामिएन, हामी त्यहीं बसेर रुन पो थालेछौँ । त्यो बच्ची लैजाने भनेको भाइ त झन् आफ्नै छोरी कसैले अपरहण गरेर लगेजस्तो बिलाप गर्दै रुन थाल्यो । हामीले उसलाई सम्झाउँदै थियौं ।

यत्तिकैमा कसैले ढोका खोलेर बत्ती बालेको आवाजले झल्याँस्स ब्यूँझे । अनि यसो आफैलाई हेरें । म त यहाँ आफ्नै बेडमा सुतिरहेको पो रहेछु । न त्यहाँ खोला थियो न त ती अघिका गाउँका अरु भाइहरू नै थिए । त्यहाँ अगाडि उभिएका हाम्रो कोठाको पार्टनर भाइ दिउसोको जागिर गरेर कोठामा फर्केका रहेछन् ।

एकैछिन अघि देखेको सपना सम्झेर कता कता हाँसो पनि लाग्यो । पत्याइनसक्नु को सपना देखेकोमा एकछिन आफै जिल्ल परें । शायद भर्खरै नेपालबाट फर्केकोले होला गाउँघरकै सपना देखेको । सपना मुलाको पनि यति ठूलो चर्चा गर्नुपर्ने त होइन र सपना अरुलाई सुनाउन पनि हुन्न भन्छन त्यसैले कसैलाई सुनाइन । अनि सपना नै किन नहोस कुनै काल्पनिक कथा जस्तो भएकोले अक्षरको रुप दिएर सबैलाई सेएर गर्न मन लाग्यो ।

प्रतिक्रिया दिनुहोस्