राम्रा कार्यक्रमलाई निरन्तरता दिन प्रदेश प्रमुखको आग्रह



कर्णाली : कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले राम्रा कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन । प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समारोहमा उनले राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै समयमै बजेट खर्च गर्न सक्ने गरी कार्ययोजना बनाउन आग्रह गरे । उनले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबैको सुझाव लिन सके कार्यान्वयनमा सजिलो हुने बताए ।

प्रदेश प्रमुख कलौनीले प्रदेश संरचना नौलो भएकाले साधन स्रोत, भौतिक पूर्वाधार र आवश्यक कानून अभावका कारण केही विलम्ब हुनु स्वभाविक भएको बताए । “आफ्नो जग आफैँ खडा गर्दै अघि बढ्नुपरेको छ, यस्तो अवस्थामा सोचेजस्तो काम गर्न सकिँदैन्”, उनले भने, “तैपनि प्रदेश सरकारले जिल्ला–जिल्लामा आफ्ना संरचनाहरु स्थापना गरेर जनताको अपेक्षाप्रति गम्भीरता देखाएको छ, जुन प्रशंसनीय छ ।” सबैभन्दा पहिले प्रदेशको नाम र राजधानीको सर्वसम्मत टुङ्गो लगाएर अनुकरणीय काम गर्न सफल भएकामा प्रदेश प्रमुख कलौनीले सरकारको प्रशंसा गरे ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले ‘समृद्ध कर्णाली : सुखारी कर्णालीवासी’ बनाउने दीर्घकालीन सोचलाई सार्थक तुल्याउन सामाजिक सुरक्षा, पूर्वाधार विकास र सुशासनका आधार निर्माण गरेको जानकारी दिए । उनले कर्णालीको विकास ढाँचा अन्य प्रदेशभन्दा फरक हुन आवश्यक रहेको भन्दै विज्ञ समूहलगायत सरोकारवालाको सुुझावका आधारमा योजना निर्माण तथा कार्यान्वयन भइरहेको बताए ।

“कर्णालीको विकास प्रदेश सरकारको लगानीबाट मात्र सम्भव छैन्, यसका लागि निजी लगानीकर्ता एवं विकास साझेदारको लगानी भित्र्याउन चाहन्छौँ”, उनले भने, “प्रदेशभित्रका ठूला आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि विदेशी निर्माण कम्पनीलाई नेपाल सरकारमार्फत अनुरोध गरेका छौं ।” प्रदेश सरकारले दुई वर्षको अवधिमा कानूनी, साङ्गठनिक संरचना निर्माण एवं जनशक्ति व्यवस्थापन गरिसकेकाले बाँकी तीन वर्ष पूर्वाधार निर्माणमा केन्द्रित हुने मुख्यमन्त्री शाहीको भनाइ छ । विसं २०७४ फागुन ३ गते नियुक्त हुनुभएका मुख्यमन्त्री शाहीले फागुन ६ गते मन्त्रिमण्डल गठन गरेका थिए ।

समारोहमा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रदेश सरकारले सङ्घीय व्यवस्थाको जग हाल्ने काम गरेको बताए । उनले सरकारलाई आवश्यक पर्ने कानून निर्माण गर्ने, सरकारका कामको निगरानी गरेर एवं सल्लाह सुझाव दिएर सरकारलाई प्रदेशसभाले सहयोग गर्दै आएको बताए । प्रदेशसभामा विपक्षी दलका नेता जीवनबहादुर शाहीले चालू आवको आठ महिनाको अवधिमा ७.४६ प्रतिशत मात्र बजेट खर्च हुनुले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको प्रष्ट हुन्छ भने । रासस

प्रतिक्रिया दिनुहोस्