अमेरिकी विशेषदूत पाकिस्तानमा



इस्लामाबाद: अमेरिकाका शान्ति विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः पाकिस्तान आइपुगेका छन् ।  अफगानिस्तानमा युद्धरत पक्षसँग सम्झौता भएमा अफगानिस्तानमा अमेरिकाको सबैभन्दा लामो सैनिक सहकार्य अन्त्य हुनेछ । 

इस्लामाबादस्थित अमेरिकी दूतावासले विशेषदूत खलिलजादले वरिष्ठ पाकिस्तानी अधिकारीहरुसँग विचारविमर्श गर्ने जनाएको छ, तर विस्तृत विवरण सार्वजनिक गरेको छैन । 

आफ्नो नियुक्ती भएसँगै खलिलजादले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न निकै प्रयत्न गरेका छन् । यसअघि भएका भ्रमणका क्रममा उनले अफगानिस्तानमा छापामार युद्ध गरिरहेको तालिबानसँग खाडी राष्ट्रमा वार्ता गरेका थिए । यसपटक उनले मध्यपूर्वका मुलुकको भ्रमण गर्ने कार्यक्रम छैन, तर उनले तालिबानी नेताहरुलाई पाकिस्तानमै भेट्ने सम्भावना छ । 

यदि तालिबानसँग वार्ता भए खलिलजादले काबुलसँग प्रत्यक्ष वार्ता गराउन भूमिका निर्वाह गर्नेछन् । तर, तालिबानले अफगानिस्तान सरकारसँग वार्ता नगर्ने अडान राख्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्