कैलालीको त्रिनगर नाकाबाट निर्यात बढ्यो 



कैलाली : सुदूरपश्चिम प्रदेशको मुख्य भन्सार नाका कैलाली भन्सार कार्यालयबाट प्रत्येक वर्ष आयात बढिरहेको छ । आयात तुलनामा निर्यात भने न्युन छ । प्रत्येक वर्ष आयात बढ्न थालेपछि भन्सार कार्यालयको राजश्वमा भने वृद्धि भइरहेको छ ।

 

चालु आर्थिक वर्षको छ महिनामा कैलाली भन्सारबाट झण्डै १० अर्ब बराबरको सामान आयात भएकोमा साढे २ अर्ब राजश्व भन्सारले अशुलेको छ । चालु आर्थिक वर्षको छ महिनामा कैलाली भन्सार कार्यालयले २ अर्ब ४१ करोड ४१ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

 

यसवर्ष सबैभन्दा बढी असोज महिनामा राजश्व संकलन भएको हो । असोजमा मात्रै ५७ करोड २ लाख २७ हजार राजश्व संकलन भएको छ । भाद्र महिनामा ३८ करोड १५ लाख ५२ हजार राजश्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए ।

 

चालु आर्थिक वर्षको ६ महिनामा कैलाली भन्सारबाट ९ अर्ब ९९ करोड ६७ लाख बराबरका सामान आयात भएको उनले जानकारी दिए । आयातित सामानमध्ये सबैभन्दा बढी पेट्रोल र डिजेल रहेको छ ।

 

हालसम्म साढे २ अर्बको डिजेल, ६४ करोड ७९ लाखको पेट्रोल आयात भएको छ । त्यस्तै खाद्य सामग्रीमध्ये सबैभन्दा बढी बिस्कुट मात्रै ३३ करोड ४८ लाख ६७ हजार मुल्यको आयात भएको छ । भन्सारबाट आयात हुने अन्य उत्कृष्ट १० वस्तुहरुमा चामल, पापड, सुर्तीजन्य पदार्थलगायतका सामग्रीहरु पनि रहेका छन् ।

 

 हालसम्म ३९ करोड ५६ लाख ६ हजार बराबरको मात्रै निर्यात भएको उप्रेतीको भनाइ छ । अघिल्ला आर्थिक वर्षहरुको तुलनामा भने निर्यात बढको छ ।  जसमा कत्था, खयर लगायतका वस्तुहरु रहेका छन् ।

 

कैलाली भन्सारले आर्थिक वर्ष २०७३/०७४ मा दुई अर्ब सात करोडको लक्ष्यभन्दा दुई अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा ३ अर्ब ८७ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा भन्सार कार्यालयले ४ अर्ब २० करोड रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

 

चालु आर्थिक वर्षका लागि पाँच अर्ब ३७ करोडको लक्ष्य निर्धारण गरिएको छ । भन्सार कार्यालयले ६ महिनामा लक्ष्यको शतप्रतिशत २ अर्ब ४१ करोड ४१ लाख राजश्व संकलन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्