काठमाडौं महानगरपालिकाले सडक बत्ती थप्ने



काठमाडौं : काठमाडौं महानगरपालिकाले नगरभित्र सडक बत्तीको अवस्थाबारे वडा कार्यालयसँग विवरण मागेको छ । महानगरपालिकाले ३२ वटै वडामा पत्राचार गरी तथ्यांक पठाउन निर्देशन दिएको हो ।

 

‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत ३२ वटै वडामा विद्युतीय बत्ती जडान गर्ने योजनाअनुसार विवरण माग गरेको महानगरपालिकाले जनाएको छ । वडाका कुन ठाउँमा कति सडक बत्ती जडान भएका छन्, कुन ठाउँमा सडक बत्ती आवश्यक पर्ने हो, स्थलगत सर्वेक्षण गरी ७ दिनभित्र तथ्यांक पठाउन महानगरले निर्देशन दिएको हो ।

 

काठमाडौं महानगरपालिकाले नगरलाई अँध्यारो मुक्त बनाउन चालु आर्थिक वर्षको नीति र कार्यक्रममा समेत ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत ५ करोड बजेट छुट्याएको छ ।

यस कार्यक्रमअन्तर्गत हाल काठमाडौंका ३२ वटै वडामा गरी ६ सय ५० बत्ती जडान भइसकेको महानगरको सहरी पूर्वाधार विकास विभागले जनाएको छ । यसअघि वडाहरुबाट प्राप्त विवरणमा झन्डै ८ हजार बत्ती जडान गर्नुपर्ने देखिन्छ ।

 

महानगरपालिकाको योजना मुख्यमुख्य सडक, चोक, गल्लीलगायतका आवश्यक स्थानमा बत्ती जडान गर्ने रहेको छ । महानगरपालिकाको योजना आवश्यकता र ठाउँअनुसार २४ देखि ५० वाटसम्मका बत्ती जडान गर्ने रहेको छ । ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत प्रत्येक वडालाई विनियोजन गरिएको बजेटको १० प्रतिशत सडक बत्तीका लागि खर्च गर्नैपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्