राजपा नेपालमा संयोजक फेरिने, अब महेन्द्र रायकाे पालाे



काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने भएका छन् । चक्रीय प्रणालीअन्तर्गत संयोजक बन्ने पछिल्लो सहमतिअनुसार माघ ५ गतेदेखि राजपा नेपालका संयोजकको जिम्मेवारी महेन्द्र राय यादवले पाउने राजपा नेपालका महासचिव राजीव झाले बताएका छन् ।

झाले भने, ‘अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरपछि गत मंसिर ५ गतेबाट राजेन्द्र महतो संयोजक बनेका थिए । त्यसै बेला अध्यक्ष महतोजीले आफू एक दिन पनि बढ़ी नबस्ने बताएकाले ५ गतेबाट महेन्द्रजी नै संयोजक बन्नुहुन्छ ।’ 

 

संयोजक पदमा महतोको दुईमहिने कार्यकाल समाप्त हुन लागेपछि शुक्रबार बस्ने राजपा नेपालको बैठकले अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायलाई संयोजकको जिम्मेवारी दिने तयारी भएको छ । ६ पार्टी एकीकरण भएको लामो समयसम्म महन्त ठाकुर नै अध्यक्ष मण्डलका संयोजक भएपछि पछिल्लो समय दुईमहिने कार्यकाल रहने गरी चक्रीय प्रणाली लागु गरिएको छ । 

 

राजपा स्रोतका अनुसार शुक्रबार माघ ४ को बैठकबाट नै महेन्द्र रायलाई संयोजकको जिम्मेवारी दिइनेछ । तर अहिलेसम्म राजपाले आधिकारिक रुपमा भने कुनै सूचना दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्