डा केसीलाई आइसियुमा राख्न सुझाव



इलाम: धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले इलाममा अनशनरत् डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा आएको विशेषज्ञ टोलीले डा केसीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताएको छ ।

नौ दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीलाई विभिन्न रोगले च्याप्दै गरेको भन्दै अस्पतालमा सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) को व्यवस्था गर्न सुझाव दिएको छ । 

उपचारमा आएको टोलीका प्रमुख तथा प्रतिष्ठानका सह निर्देशक डा विकास शाहले डा केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म रहेको, श्वासप्रश्वासमा समस्या रहेको र मुटुको चाल ३५ देखि दुई सयसम्म पुगेको जानकारी दिए । उनले भने, “डा केसीको शरीरमा ग्लुकोजको मात्रा पटकपटक कम भएर ५० भन्दा तल पुगेको छ भने डा केसीले ग्लुकोज लिन अस्वीकार गरेका छन् । ” धरानबाट बुधबार ६ विशेषज्ञको टोली डा केसीको स्वास्थ्य परीक्षणका लागि इलाम आएको थियो । 

टोलीमा डा साहसहित मुटुरोग विशेषज्ञ डा प्रशान्त शाह, जनरल फिजिसियन डा अजय यादव, एनेस्थेसियोलोजी तथा सघन उपचार कक्ष विशेषज्ञ डा सविन भण्डारी, ल्याब टेक्निसियन जितेन्द्र यादव र स्टाफ नर्स रचना राणाको सहभागिता थियो । शिक्षा तथा स्वास्थ्य समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयकको परिमार्जनको माग राख्दै डा केसी २५ पुस देखि अनशनमा छन् । 

प्रतिक्रिया दिनुहोस्