त्रिभुवन आर्मी विशाल स्मृति कपको फाइनलमा, उपाधिका लागि हिमालयन शेर्पासँग भिड्ने



वीरगन्ज : झापा ११ लाई हराउँदै  डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब वीरगन्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगन्जको नारायणी रङ्गशालामा भएको खेलमा आर्मीले झापा–११ लाई ६—१ को फराकिलो अन्तरले पराजित गरेको हो । 

बिहिबार भएको सेमीफाइनलमा खेलमा झापा ११ लाई हराएर आर्मीले गत पुसमा फाल्गुनन्द गोल्डकपमा व्यवहोरेको हारको बदला समेत लिएको छ । 

आर्मीका टेकबहादुर बुढाथोकीले खेलको पहिलो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि सन्तोष तामाङले १४ औँ र २४ औँ मिनेटमा २ गोल गर्दै पहिलो हाफमा आर्मीलाई ३–० को अग्रता दिलाए ।

७०औ“ मिनेटमा आर्मीले आ्रत्मघाती गोल उपहार पायो । टेकबहादुर बुढाथोकीले ७४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ८८ औँ मिनेटमा विवेक बस्नेतले अर्को एक गोल थपेपछि आर्मीले झापा–११ माथि ६–१ को जित हात पारेको हो ।

झापा–११ का लागि सान्त्वना गोल भने आशिष् चापागाईँले गरेका थिए । खेलको म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । 

प्रतियोगिताको फाइनल खेल शनिबार आर्मी र हिमालयन शेर्पा बीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्