सिमकोटमा ६ महिनादेखि स्वास्थ्य संस्था बन्द, बिरामी हेर्दै फर्किर्दै



हुम्ला : सिमकोट गाउँपालिका–२ स्थित कुम्लिङ ज्यूलास्थित सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मी ६ महिनादेखि कार्यालयमा उपस्थित नहँदा सेवाग्राही मर्कामा परेका छन् ।

उक्त सामुदायिक स्वास्थ्य इकाइमा एक-एक जना अहेव, अनमी र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी रहेको छ ।

जिल्लामा रुघाखोकीका बिरामीको संख्या बढि रहेको अवस्थामा सो स्वास्थ्य इकाइमा ०७६ भदौ महिनादेखि स्वास्थ्यकर्मी सम्पर्क विहीन भएका हुन् ।

उक्त स्वास्थ्य इकाइमा स्वास्थ्यकर्मी विहीन भएपछि सिमकोट गाउँपालिका–२ र १ वडाका सात गाउँ र खार्पुनाथ गाउँपालिका–५ का दुई गाउँ स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।

६ महिनादेखि सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नबसेपछि सो ठाउँका करिव नौ सय जना स्थानीयबासी मर्कामा परेका छन् । उक्त स्वास्थ्य इकाइमा दैनिक १०-१२ जनासम्म बिरामी उपचारका लागि जाने गरेकोमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनु परेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका स्थानीयबासी पर्वल बोहराले गुनासो गरेका छन् ।

उनले भने–‘०७२ सालमा स्थापना भएको स्वास्थ्य इकाइमा विद्यार्थी र अभिभावकले देउसी भैलोबाट सङ्कलन भएको एक लाख रुपियाँ पुगेपछि भविष्यमा टाढा जान नपर्ने उद्देश्यकासाथ गाउँका अगुवाको सल्लाह अनुसार सो ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ निर्माण गरिएको थियो ।’

घाँटी, टाउको दुख्ने र ज्वरो आएको एक हप्ता भइसक्यो स्वास्थ्य इकाइमा जादा सो इकाइमा ताला लगाएको देख्दा दिक्क भएर घर फर्कनु परेको बिरामी जोरसिंह बोहराको गुनासो छ । आफु सो सामुदायिक स्वास्थ्य इकाइमा लगातार आएको पाँच दिन भई सक्यो तर यो ढोका कहिले पनि खुलेन उनले गुनासो गरे ।

आजभोलि सो ठाउँका वृद्धवृद्धालाई रुघाखोकी र बालबालिकालाई निमोनियाको लक्षण देखिएको बोहराको भनाई छ ।

उनले भने यो स्वास्थ्य इकाइ नखुलेपछि यहाँका स्थानीयबासी खार्पुनाथ स्वास्थ्य चौकीमा जाने गरेका छन् भने केही सेवाग्राही जिल्ला अस्पतालमा जाने गरेको बिरामी रुपसिंह बोहराले जानकारी दिए ।

तलव नपाएपछि स्वास्थ्य इकाइ बन्द गर्न बाध्य भएको स्वास्थ्यकर्मीको भनाई छ ।

सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत तीनै जना स्वास्थ्यकर्मीले गत भदौदेखि तलव नपाएपछि स्वास्थ्य इकाइ कुर्नुको कुनै औचित्य नरहेको सो स्वास्थ्य इकाइका प्रमुख धनजित बोहराले बताए ।

६ महिनादेखि तलव नपाएपछि स्वास्थ्य इकाइमा जान छोडेको इकाई प्रमुख बोहराले बताए । उनले ६ महिना अघि सिमकोट गाउँपालिकाले नै तलव खुवाउने गरेको थियो । तर, त्यसपछि भने गाउँपालिकाले केन्द्रबाटै बजेट आएको छैन भनि झारो टार्ने काम गरी रहेको स्वास्थ्यकर्मी बोहराको आरोप छ ।

यस विषयमा गाउँपालिकामा बुझ्दा गाउँपालिकाले पटकपटक केन्द्रीय सरकार मातहतको स्वास्थ्य विभागलाई सो बजेटको बारेमा परिपत्र लेख्दा समेत सुनुवाई नभएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको भनाई छ ।

अधिकृत दर्जीका अनुसार विभागबाट रकम नआए गाउँपालिकाले तलव खुवाउन सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्