प्रदेश २ को नामको बिषयमा दलहरुबिच सहमति



जनकपुरधाम : प्रदेश २ को नामको बिषयमा दलहरुबिच सहमति भएको छ ।

आइतबार दलहरुबिच भएको आन्तरिक छलफलमा प्रदेशको नाममा मधेस शब्द जोड्न प्रतिपक्षी दलहरु करिव करिव सहमत भएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सहमतिका लागि प्रदेशको नाम ‘मिथिला मधेस’ हुनुपर्ने प्रस्ताव अघि सारेको बताए । त्यस्तै नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो दलले लचकता देखाएर ‘जानकी मधेस’ को प्रस्ताव अघि सारेको जानकारी दिए ।

उनले भने,‘सत्तापक्ष लचक भए आफूहरु पनि सहमति गर्न तयार छौं ।’ यता सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी प्रदेश २ को नाम ‘मधेस प्रदेश’ हुनुपर्ने अडानमा छन् ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम टुङ्ग्याउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको बताए । उनले मुलुकमा संघीयता स्थापना गराउन मधेश आन्दोलनको सम्मानका लागि भएपनि नाम मधेस प्रदेश हुनुपर्ने बताए ।

यसअघि शनिबार प्रदेश २ को २ बर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा पनि मुख्यमन्त्री राउतले प्रदेश २ को नाम मधेस प्रदेश नै हुने अडान दोर्होयाएका थिए ।

त्यस्तै,भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पनि दलहरुको आगामी बैठकबाट प्रदेशको नाममा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

सभामुख सरोज कुमार यादवले पनि स्थायी राजधानीबारे दलहरु यसअघि नै सहमति नजिक पुगिसकेको र नामकरणमा समेत सहमति जुट्ने विश्वास व्यक्त गरे । उनले भने,‘हामीले संसदीय दलका नेताहरुसँग छलफल गरेका छौं । छलफल सकारात्मक रहेकाले सहमति जुट्ने सम्भावना छ ।’

प्रदेशको नामाकरण र राजधानीबारे सहमति जुटाउन सभामुख यादव नेतृत्वको संसदीय समितिले फागुन १५ भित्र दुबै प्रस्ताव प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्