एक दशकदेखि निरन्तर पहिरो : १२ घर विस्थापित, पुरै गाउँ जोखिममा 



म्याग्दी : दश वर्ष अघिदेखि खस्न सुरु गरेको पहिरोले विशालरुप लिँदै गएपछि बेनी नगरपालिका–३ मा पर्ने तोराखेत गाउँ नै जोखिममा परेको छ । पहिरोको पुछारमा पर्ने बेनी नगरपालिका २ को बगरफाँट गाउँ पनि खतरामा छ ।

 २०६५ सालमा खस्न सुरु भएको पहिरोले वर्षेनी कटान गर्दै गएपछि तोराखेतका १२ घर परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु केही स्थानीय ज्यामरुककोटको भकुण्डेमा बसेका छन् भने केही खबरा र बगरफाँटमा सरेका छन् ।

वर्षामा मात्र नभइ हिउँदमासमेत सुख्खा पहिरोले दुःख दिने गरेको स्थानीय डिलबहादुर सापकोटाले बताए ।  ‘बर्षातको समयमा पहिरो बग्ने र हिउँदमा समेत जमिन चिरा परेर पहिरो खस्ने गरेको छ ।,’ उनले भने, ‘गाउँका  २० घरपरिवार पहिरोको उच्च जोखिममा छौं ।’

आफूहरुसँग भएको सबै जमिन पहिरोले बगाइसकेको र घर बनाउनसमेत जमिन बाँकी नरहेको स्थानीय भीमबहादुर दर्जीले बताए । आफ्नो पीडाका बारेमा स्थानीय र प्रदेश सरकारलाई समेत जानकारी गराईसकेको भए पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

पहिरोका कारण बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेकोे छ । २०६५ सालमा खस्न सुरु गरेको पहिरो वर्षेनी खस्दै आएको स्थानीय बताउँछन् । पहिरोकै कारण बालबालिकालाई विद्यालय जान समेत समस्या हुने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्