मंगला गाउँपालिकामा कृषि प्रर्दशनी : १९ कृषक पुरस्कृत



म्याग्दी : मंगला गाउँपालिकामा माघे संक्रान्तिको अवसरमा बृहत्त कृषि प्रर्दशनी मेला आयोजना गरिएको छ ।

 कृषि उत्पादन तथा बजारीकरणलाई प्राथमिकतामा राखेको गाउँपालिकाको अभियानलाई सघाउने तथा कृषकलाई प्रोत्साहन गर्न वडा नं २ रनवाङमा मालिका यूवा क्लबको आयोजना र गाउँपालिका अन्तरगतको कृषि शाखाको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालित दुईदिने गाउँपालिकास्तरीय मेलामा कृषकले खाद्य, तरकारी,फलफुल लगाएत आफ्नो उत्पादनलाई प्रर्दशनका लागि ल्याएका थिए ।

कृषि प्रर्दशनीमा ६ वटा विधामा तरकारी बाली फलफुल, नगदे, आलु, मसला र विविध बाली अन्तरगत तरुल र च्याउलाई छनौट गरी क्रमशः प्रथम, द्धितिय र तृतिय १९ जनालाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । 

त्यस्तै प्रतियोगितामा सहभागी ५९ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको गाउँपालिकाका कृषि शाखाका प्रतिनिधि जगत बानियाँले बताए ।  उनकाअनुसार मेलामा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कृषि उत्पादन तथा सम्भावनाको खोजीलाई प्राथमिकतामा राखेको बताएका थिए । 

‘कृषकलाई प्रोत्साहन गर्न सधैं तयार छौं। कृषिमा नयाँ प्रविधिको खोजीलाई पनि प्राथमिकता दिइरहेका छौ’ उनले भने, ‘अर्गानीक उत्पादनमा गाउँपालिकाका सबै कृषकलाई जोड्ने प्रयासलाई सघाउन समेत उनले अनुरोध गरे ।’

 कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष धन बहादुर खाती क्षेत्री, मालिका यूवा क्लबका अध्यक्ष मुक्तमान केसी लगाएतको उपस्थिती रहेको थियो । प्रर्दशनीमा ७७ कृषक सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्