प्रदेश १ काे नाम र राजधानकीकाे विषयले अझै संसदमा ठाउँ पाएन



विराटनगर : प्रदेशसभामा दुई तिहाइ मत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षि कांग्रेसभित्र प्रदेशको नाम र राजधानीको विषयलार्इ लिएर तीव्र चर्चा गर्न थालिएकाे छ । साथै याे विषय अहिले संसदमा पनि छिरी यसप्रति बहस हुन थालेकाे छ । 

 

औपचारिक रुपमा विषय प्रवेश नभए पनि प्रदेशको नाम र राजधानीको विषय प्रदेशसभामा बहस सुरु भएको हो। 

 

संसदको शून्य समय र विशेष समयमा सांसदहरुले राजधानी र नामांकनकै विषय बढी उठाउन थालेका छन्। विधेयकमाथिको छलफलमा पनि यो विषयले राम्रै चर्चा पाएको छ। तर, नाम र राजधानीकै विषय टुंगो लगाउन बसेको नेकपा संसदीय दलको बैठक निर्णयमा पुग्न नसकेपछि स्थगित भएको छ भने दोहोर्‍याएर बैठक बस्न सकेको छैन। 

 

केही दिनअघि उदयपुर सदरमुकाम गाईघाट पुगेका बेला मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी विकेन्द्रित गर्ने कुरा चुहाए। पछिल्लो समय सोही प्रस्ताव चर्चामा आउन थालेपछि संसदभित्र र बाहिर पनि तरंग आएको सांसदहरु बताउँछन्। 

 

सांसदहरु राजधानी विकेन्द्रित गर्ने पक्ष र विपक्षमा बहस गरिरहेका छन्। तर, कहाँ राख्ने भन्नेमा एकमत हुन सकेको छैन।

 

मुख्यमन्त्री राई भने अहिले पनि राजधानी विकेन्द्रित गर्नु नै समस्याको समाधान भएको अडानमा छन्। तर, यसमा सहमति जुटन सकेको छैन। 

 

सरकारले प्रदेशसभाको चालु अधिवेशनमै नाम र राजधानीको विषय टुंगो लगाउने बताउँदै आएको छ। तर, हालसम्म पनि यो विषयले औपचारिक रुपमा संसदमा प्रवेश पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्