साना किसानलाई अनुदान



बागलुङ : कृषिलाई व्यवसाय बनाएकालाई बागलुङ नगरपालिकाले अनुदान वितरण गरेको छ ।

दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई लगानी, मिहिनेत र क्षेत्रफल तथा पशु संख्याका आधारमा अनुदान दिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

प्रदेश र संघीय सरकारबाट अनुदान पाएकाबाहेक चालू आर्थिक वर्षमा झण्डै एक सय किसानलाई अनुदान वितरण गरेको हो । नगरपालिकाले कृषि अनुदानका माध्यमबाट १२ लाख ८० हजार अनुदान बाँडेको हो । कम्तीमा ४ रोपनी जग्गामा सुन्तला र अन्य कृषि उत्पादनको काम गरेका किसान, माछातर्फ ५०० भन्दा बढी, पशुपालन भए कम्तीमा ५ वटा पालेका तथा दूध उत्पादन गरेका किसानलाई पुरस्कार स्वरुप अनुदान बितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख पौडेलले छनोट भएर आएका किसानलाई अनुदान दिए । सार्वजनिक सूचना जारी गरेर परेका निवेदनबाट छनोट गरिएको बताए । उनले अनुदान सदुपयोग गर्न सबैलाई आग्रह गरे । अनुदान दुरुपयोग भएमा सरकारी बाँकीसरह असुल उपर गरिने भन्दै काम गर्नेलाई प्रोत्साहन दिने योजना ल्याएको बताए ।

पौडेलले किसानले र बालबालिकाले झुटो बोल्दैन भन्ने मान्यताले उनीहरुको प्रतिबद्धता समेतलाई अनुदानमा सूचक बनाइएको बताए । छनोटमा परेकालाई १२ हजारदेखि ४० हजारसम्म रकम नगदमै उपलब्ध गराइएको हो । सुन्तलातर्फ १० किसानलाई २ लाख ३६ हजार र माछापालनका लागि ५०० भन्दा बढी पाल्ने २ जनालाई ८० हजार वितरण गरिएको हो ।

लेयर्स कुखुरातर्फ कम्तीमा १ सय पाल्ने आठजनालाई २ लाख, ५ सयभन्दा बढी कोइलर पाल्ने २४ जनालाई ३ लाख ९० हजार, गाईभैँसीतर्फ ५ भन्दा धेरै पाल्ने १३ जनालाई १ लाख ७५ हजार, बाख्रातर्फ एक सयभन्दा बढी पाल्ने २८ जनालाई ३ लाख ६५ हजार दिइएको हो ।

राँगोतर्फ ३ जनालाई ९९ हजार, बङ्गुर पाल्ने ३ जनालाई १ लाख ५० हजार, दूध उत्पादन र बिक्री केन्द्र स्थापना गर्ने ४ जना किसानलाई १ लाख ८० हजार दिइएको हो । उपकरण चाहिने किसानको हकमा बिल अनुसारको नगद हस्तान्तरण गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्