राष्ट्रपति भन्छन्- सुन्दर युवतीका कारण बलात्कार बढ्यो



मनिला : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आफ्नो गृहनगरमा सुन्दर महिलाका कारण यौनजन्य दुव्र्यवहार बढी भएको बताएका छन् । बारम्बार अशोभनीय टिप्पणीका कारण विवादमा तानिने राष्ट्रपति दुतेर्तेको पछिल्लो अभिव्यक्तिले आमफिलिपिनी रुष्ट बनेका छन् । टिप्पणीलाई लिएर ७३ वर्षीय दुतेर्तेमाथि माफी माग्न दबाब बढेको छ । तर, राष्ट्रपति कार्यालयका अधिकारीहरूले त्यो केबल जोक भएको भन्दै दुतेर्तेको बचाउ गरेका छन् ।

‘डाभाओ सहरबाट बलात्कारका धेरै विवरण आएको बताइन्छ । सहरमा जति धेरै सुन्दर युवती हुन्छन्, त्यति नै धेरै बलात्कारका घटना हुन्छन्,’ दुतेर्तेले निशंकोच भने । फिलिपिन्सको तल्लो सदनका सदस्य फ्रान्स कास्ट्रोले दुतेर्तेले क्षमा माग्नुपर्ने माग गरेका छन् । ‘दुतेर्तेले तत्कालै सार्वजनिक रूपमा क्षमा माग्नुपर्छ । डाभाओ सहर मात्र होइन, सम्पूर्ण देशका बलात्कारपीडितलाई तत्काल न्याय प्रदान गर्नुपर्छ,’ सांसद कास्ट्रोको भनाइ उद्धृत गर्र्दै एक स्थानीय दैनिक पत्रिकाले लेखेको छ । बलात्कारीका कारण बलात्कारका घटना बढेका हुन्, पीडितको अनुहारसँग कुनै सम्बन्ध छैन,’ उनले थपिन् ।

सन् २०१८ को पहिलो ६ महिनामा राष्ट्रपतिको गृहनगरमा अन्य स्थानको तुलनामा सबैभन्दा बढी बलात्कार हुने गरेको तथ्यांक केही दिनअघि फिलिपिन्स प्रहरीले सार्वजनिक गरेको थियो । राष्ट्रपति दुतेर्तेका हावादारी गफ र अश्लील अभिव्यक्तिका कारण कतिपय फिलिपिनी उनलाई घृणा गर्छन् ।  सन् २०१७ मा दुतेर्तेले आफ्ना सुरक्षा गार्डले महिलालाई बलात्कार गरेर जेल जान सक्ने अभिव्यक्ति दिएका थिए । ‘केबल आफ्नो काम गर्नुहोस्, बाँकी कुरा मिलाउँछु । त्यसका लागि म कैद जान पनि सक्छु,’ उनले भनेका थिए ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा बलात्कारबारे उनले दिएको अभिव्यक्तिले छिमेकी मुलुक अस्टे«लियासमेत क्रुद्ध बनेको थियो । इन्डोनेसियास्थित अस्ट्रेलियाकी मिसिनरीको सन् १९९९ मा फिलिपिन्सको डाभाओ सहरमा भएको बलात्कारबारे उनले भनेका थिए, ‘उनी बलात्कृत भएकोमा मलाई रिस उठेको छ । उनी यति सुन्दर थिइन्, त्यस्तो सुन्दर व्यक्तिलाई त पहिला मेयरले बलात्कार गर्न पाउनुपथ्र्यो,’ सो घटना हुँदा दुतेर्ते मेयर थिए । यसै वर्षको फेब्रुअरीमा दुतेर्तेले विदेशी महिलामा अनौठो गन्ध हुने भएकाले आफूलाई मन नपर्ने तर फिलिपिनो महिला हरहर बास्नादार हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्