प्रजातन्त्र दिवस : सुखानीको सन्देश-शहीदले देखाएको बाटोमा हिँड



काठमाडौं : ४७ वर्षअघि झापाको चन्द्रगढीबाट इलामको जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा गोली हानी झापा किसान विद्रोहका ५ जना होनहार योद्धाको सामूहिक हत्या गरिएको थियो ।

जनताको हातमा राज्यसत्ता ल्याउने प्रष्ट उद्घोषका साथ झापामा शुरु भएको उक्त विद्रोहलाई दमन गर्न पञ्चायती सरकारले वीर योद्धा वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको त्यस बेला सुनियोजित हत्या गरेको थियो ।

मुलुकभर विद्रोहको लहर सिर्जना गर्न सफल सो बलिदानीपूर्ण घटनाको १७ वर्षपछि २०४६ साल चैत २६ गते जनआन्दोलनको बलमा पञ्चायती सत्ता ढलेको थियो भने अर्को १७ वर्षपछि सशस्त्र विद्रोही नेकपा माओवादीको सहकार्यमा भएको दोस्रो जनआन्दोलनले २०६३ वैशाख ११ गते २५० वर्षदेखिको राजतन्त्रीय व्यवस्था अन्त्य गरेको थियो ।

वि.सं २००७ मा राणाशाहीको अन्त्य र प्रजातन्त्रको प्रादुर्भाव गर्न भएको ऐतिहासिक जनक्रान्तिमा समेत नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण भूमिका थियो । नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षमा नेपाली कम्युनिष्टको भूमिका अग्रणी रहँदै आएको छ । वि.सं.२०४६ यता सुखानीका ५ शहीदलाई बलिदानीपूर्ण संघर्षको प्रतीक एवं प्रेरणा स्रोतका रूपमा उच्च सम्मान व्यक्त हुँदै आएको छ । हरेक सरकारले तिनै शहीदका सपना पूरा गर्न सक्रिय रहेको बताउँदै आएका छन् ।

जमिन्दारको शोषण र पञ्चायती निरंकुुश सत्ताको उत्पीडनमा परेका झापाका मोही किसानका पक्षमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको पूर्वकोशी प्रान्तीय कमिटीबाट विद्रोह गर्दै गठन भएको झापा जिल्ला कमिटीको नेतृत्वमा वि.सं.२०२८ मा भएको सशस्त्र विद्रोहलाई इतिहासकारले झापा विद्रोह वा झापा किसान विद्रोहको संज्ञा दिँदै आएका छन् ।

नेपालको कम्युनिष्ट इतिहासमा योजनाबद्धरूपमा सञ्चालन गरिएको पहिलो सशस्त्र विद्रोह थियो झापा किसान विद्रोह । मुलुकमा परिवर्तनकारी चेतनाको उभार ल्याउने सुखानीका तिनै क्रान्तिकारी शहीदको बलिदानीको जगमा हुर्किएको कम्युनिष्ट मूलप्रवाह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई वर्षअघि दुई तिहाइ बहुमतका साथ निर्वाचित भएर ५ वर्ष नढल्ने सरकार गठन गर्न सफल भएको छ भने झापा विद्रोहको नेतृत्वदायी भूमिकामा रहेका कारण डेढ दशकसम्म कठोर जेलनेलसमेत व्यहोरेका क्रान्तिकारी नेता केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकारले मुलुक हाँकिरहेको छ ।

पञ्चायती शासन र राजतन्त्रको उन्मूलन गर्न भएका सबै आन्दोलनको प्रेरणा र ऊर्जाको स्रोत सुखानीका शहीदले देखाएको बाटो नबिराई निम्न वर्गीय नेपाली जनतालाई सुखी र समृद्ध तुल्याउन बलिदानको पृष्ठभूमिमा उभिएको वर्तमान नेकपाको सरकार अग्रसर हुनुपर्ने सुखानीका शहीद नेत्र घिमिरेकी पत्नी जीवन घिमिरेको धारणा छ ।

शहीदले देखाएको बाटो बिराएमा शिशु अवस्थामा हुर्किंदै गरेको लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती बढ्ने बताउँदै संविधानसभा सदस्यसमेत रहेकी उनले वर्तमान सरकारले आर्थिक विकासका माध्यमबाट आमजनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने बताउ छिन् ।

वि.सं २०४६ अघिदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका संविधानसभा सदस्य रवीन कोइराला २००७ सालदेखि विभिन्न कालखण्डमा गठन भएका अधिकांश सरकारबाट नेपाली जनताले निराशा मात्र पाएको हुँदा अहिलेको सरकारसँग जनअपेक्षा धेरै हुनु स्वाभाविक भएको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको दुई तिहाइको सरकारले सात दशकदेखि जनताले गर्दै आएको अपेक्षा पूरा गर्नुपर्ने दायित्व काँधमा बोक्नुपरेको जिकिर गर्छन् । “जनताले खोजेको कुरा आमूल परिवर्तन हो”, संविधानसभा सदस्य कोइराला भन्छन्, “राजनीतिक क्रान्तिले मात्र तल्लो वर्गका जनतालाई लोकतन्त्रको अनुभूति दिलाउन सकेन, आर्थिक समृद्धि प्राप्तिको लक्ष्यमा अविराम वेगमा दायाँबायाँ नहेरी अघि बढ्नु अहिलेको सरकारको कार्यभार बनेको छ ।”
लामो अवधिदेखि पराधीन अर्थतन्त्र र अस्थिर राजनीतिक भुमरीमा फँसेको नेपाली समाजलाई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थिर र जनपक्षीय बाटोमा मुलुकलाई हिँडाउन वर्तमान सरकारले छोटो अवधिमा हासिल गरेको उपलब्धि आशलाग्दो भएको काँकडभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

आर्थिक विकास र सुशासनले मात्र जनतालाई लोकतन्त्रको अनुभूति दिलाउने हुँदा तीन तहको सरकारले आफ्नो लक्ष्य त्यही जन चाहना अनुरूप निर्दिष्ट गर्नुपर्ने उनको धारणा छ । शहीद वीरेन राजवंशीका छोरा नेत्र राजवंशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन स्थापना भएपछि राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीको ‘ग्यारेन्टी’ गर्नुपर्ने आम चाहना भएको बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्