गोदाममै कुहिन थाल्यो स्याउ 



मुस्ताङ : जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकखण्ड अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या देखिएको छ । 

 

भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो सातादेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ । झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ । 

 

यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन् । स्याउ बजारमा पु¥याउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानले बताएका छन् । म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडाँै, चितवनलगायत जिल्लाबाट आएका व्यापारीले बगँैचामै गई स्याउ खरिद गर्ने गरेका छन् । ‘ढुवानी समस्याले स्याउ कुहिन थालेको छ,’ थासाङ गाउँपालिका–१ टुकुचेका हरि थकालीले बताए ।  

 

जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार एक सय १५ हेक्टर क्षेत्रफलमा रेड, रोयल, रिचारेड तथा गोल्डेर फुजी डेलिसियस जातको स्याउ खेती गरिँदै आएको छ ।

 

वार्षिक पाँच हजार मेट्रिक टनको हाराहारीमा स्याउ उत्पादन हुन्छ । जिल्लाबाट अघिल्लो वर्ष करिब २५ करोड मूल्य बराबरको स्याउ बिक्री भएको थियो । विगतका वर्षमा भदौमै आधाभन्दा बढी स्याउ बजार पुगिसक्थ्यो । यसपालि एक चौथाइ पनि बिक्री हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल खड्काले जानकारी दिए । 

 

राहुघाट, रुप्से, काभ्रे, बादरजुङ र लेते क्षेत्रको अक्करे भीरको फेदीमा पहिरोले सडक भत्काएको छ । त्यहाँ नदीले कटान गर्दा बेनी–जोमसोम सडकमा सवारीसाधन चल्न सकेका छैनन् । जसले गर्दा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा छन् ।

 

सडक खुलाउने प्रयास भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर प्रदीप निरौलाले बताए । यो समाचार हामीले राससबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस्