बन्यो कोरोनाभाइरसबिरुद्धको भ्याक्सिन



एजेन्सी : कोरोनाभाइरसविरुद्धको भ्यासिन भारतमा बनेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोनाभाइरसविरुद्धको भ्यासिन विकास गरेका हुन् । यसको पूर्ण विकासका लागि सेरम र कोडाजेनिक्सको संयुक्त प्रोजेक्टमा तीन अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइसकिएको जनाइएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार भ्यासिनको मानवमाथि परीक्षण छ महिनापछि हुने बताइएको छ । त्यसअघि मुसामा यसको परीक्षण हुनेछ । सेरमका प्रमुख कार्यकारी निर्देशक अडर पुनवालाले भ्यासिन परीक्षणका लागि आफूहरु निकै अगाडि बढिसकेको खुलासा गरेका छन् । सामान्यता कुनैपनि भ्यासिन पूरा विकास गर्न सातदेखि आठ वर्ष लाग्ने गरेकोमा छ महिनाभित्र कोरोनाभाइरसविरुद्धको भ्यासिन तयार हुने बताएका छन् ।

तयार गरिएको भ्यासिन यसै महिनाभित्र मुसामा परीक्षण गरिनेछ । मानवमाथि छ महिनापछि परीक्षण गरी यसलाई अनुमोदन गरिने उल्लेख छ । सन् २०२२ मा भ्यासिनको व्यवसायिक उत्पादन र वितरण हुनेछ ।

छ महिनाभित्र कोरोनाभाइरसविरुद्धको भ्यासिन मानवमा परीक्षण गरेपछि यो अहिलेसम्म भारतमा बनेका भ्यासिनमध्ये सबैभन्दा छिटो हुनेछ । सेरमका वैज्ञानिकहरु भ्यासिन तयार गरेर निकै उत्साही भएको जनाइएको छ ।

पुनेस्थित सेरम इन्टिच्युट भारतको सबैभन्दा ठूलो भ्यासिन उत्पादन कम्पनि हो । यसले यूरोपमा समेत आफ्नो उत्पादन गर्छ ।

प्रतिक्रिया दिनुहोस्