८ बजेपछि विद्यार्थी परिचयपत्रमा ‘नो डिस्काउन्ट’, सम्बन्धित निकाय मौन



काठमाडौं : बालकुमारी बस्ने अस्मिता खड्का बसका सहचालकसँग सधैँ झगडा परेर दिक्क हुन्छिन् । झगडा पर्नुको कारण एउटै हो, ८ बजेपछि विद्यार्थीलाई कार्डमा छुट नदिनु । उनी साढेँ सात बजेसम्म अफिसमा काम गर्छिन् । ओर्लले ठाउँ नआउँदै ८ बज्छ । ओर्लने बेला जहिले झगडा पर्छ । साँझ परेपछि कार्डको छुट नै दिँदैनन् । उनी भन्छिन्–‘८ बजेपछि जहिले बढि भाडा तिर्नुपर्छ । अरु समयमा विद्यार्थी, ८ बजेपछि चाहिँ हामी कसरी विद्यार्थी हुँदैनौ ?’ उनले प्रश्न गर्दै भनिन्–‘कि त नियम बनाउनु पर्यो ८ बजेपछि कार्डको छुट हुँदैन भनेर । नभए हामीलाई छुट हुने व्यवस्था मिलाउनु पर्यो । ट्राफिक प्रहरीले हामीले कारबाही गरिरहेका छौं भन्छन् । तर, उनीहरुले छुट नै दिँदैनन् । नियमित उनीहरुले अनुगमन गर्नुपर्यो, कार्ड छुट नदिनेलाई कडाभन्दा कडा कानुन बनाएर कारबाही गर्नुपर्यो ।’

यसरी काड छुट नदिएर मर्कामा पर्ने उनी मात्र हैन धेरै विद्यार्थी मर्कामा परिरहेका छन् । भक्तपुर बस्ने सरला घिमिरे जब ८ बज्ने बेला हुन्छ हतारहतार गाडी भाडा बसको कन्डक्टरलाई दिन तम्सिन्छिन् । तर, कन्डक्टर उनलाई ओर्लने ठाउँ आएपछि मात्र दिन आग्रह गर्छन् । उनले हतार गरेर भाडा तिर्नुको कारण पनि ८ बजेपछि विद्यार्थी कार्डमा छुट नदिनु नै हो । उनी भन्छिन्–‘हामीले कार्डको छुट किन पाउँदैनौ भनेर सोध्दा ८ बजेपछि कार्ड छुट हुँदैन भन्दै कन्डक्टर झर्किन्छन् । उल्टै आधा बाटो मै ओर्लिनु कि पूरै पैसा दिनु भन्दै धम्क्याउ छन् । त्यतिमात्र हैन, भोलीदेखि यो गाडीमा नचढ्नसम्म भन्छन् ।’

यसरी १० रुपैयाँमा पुग्ने ठाउँमा १५ रुपैयाँ तिर्न हामी बाध्य छौं । सम्बन्धित निकायलाई वास्तै छैन । यसरी कार्डको छुट नहुँदा हामी मर्कामा परिरहेका छौं । उनी भन्छिन्– ‘मैले प्राय झगडा गरेर नदिइ ओर्लदा भनेको ठाउँमा गाडि नै रोकिदिँदैनन्, एकदमै नराम्रो शब्दले प्रयोग गरेर गाली गर्छन् । मैले कति पटक बस नम्बर टिपेर ट्राफिक प्रहरीलाई दिएको पनि छु, ट्राफिकले हामी कारबाही गर्छौ, तपाईलाई फेरी फोन गर्छौ भनेका थिए तर फोन नै आएन । खोइ कारबाही गरेको भए त कार्ड छुट दिन थाल्थे होला कुनै ले त । तर अहिलेसम्म यस्तो पाइएको छैन । कसरी विश्वास गर्नु कारबाही हुन्छ भनेर ?’

यसरी कारबाहिमा लापरबाही गर्दा विद्यार्थी मर्कामा पर्ने गरेका छन् । तर, पुरानो बसपार्क भक्तपुर रुटका माइक्रो चालक यसरी ८ बजेपछि कार्ड छुट नदिनु एकदमै राम्रो भएको बताउँछन् । उनी भन्छन्–‘विद्यार्थी नभए पनि हामी विद्यार्थी हौ भन्दै कार्ड देखाउछन् । हामी कति मर्कामा परिरहेका छौं कसैले यता तिर ध्यान दिन्छन् ? स्कुल कलेज टाइम बाहेक अरु समयमा ५ प्रतिशत जति मात्र विद्यार्थीले यात्रा गरिरहन्छन् । तर, अरु सबै फेक आइडी देखाइरहेका हुन्छ । कपडा पसल अथवा अरु काम गर्नेहरु पनि विद्यार्थी हौ भन्दै नक्कली परिचयपत्र देखाउदै छुट माग्छन् । यसको लागि हामीले कयौं पटक भनिसकेका छौं सुनुवाइ नै हुँदैन अनि के गर्ने ? सही विद्यार्थीले मात्र कार्ड देखाउने हो भने हामीले जुन समयमा पनि कार्ड छुट दिन सक्छौं । यसको लागि हामीलाई कुनै आपत्ति हुँदैन तर नक्कली विद्यार्थीका कारण हामी मारमा परिरहेका छौं ।’

नक्कली विद्यार्थी कार्डलाई नियन्त्रण गर्ने हो भने ८ बजेपछि कार्डमा छुट नदिने कुरा आफैँ ठिक ठाउँमा आउने उनको भनाई छ । हुन पनि कतिपयले नक्कली कार्डको प्रयोग गरेर पनि यात्रा गरिरहेका हुन्छन् । कति सक्कली विद्यार्थी पनि मर्कामा परिरहेका छन् । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले छुट नदिने सवारीलाई कारबाही गर्ने बताउँछन् । ‘साँझ ८ बजेपछि कार्डमा डिस्काउन्ट (छुट) नदिने कुनै निर्णय भएको छैन,’ उनले भने–‘विद्यार्थी, ज्येष्ठ नागरिक सबैले कार्डमा डिस्काउन्ट (छुट) पाउँछन् ।’ विद्यार्थीलाई ठगेको पाएमा सवारीसाधनलाई कारबाही गर्ने उनले बताए ।

उनले भने–‘विद्यार्थी वा ज्येष्ठ नागरिका कार्ड देखाएपछि ३३ प्रतिशत भाडा जुनसुकै समयमा छुट हुन्छ ।’ यसरी हामी कहाँ ८ बजेपछि कार्ड डिस्काउन पाइएन भनेर गुनासो नआएको जिकिर गरे । उनले भने अरुअरु समस्याका लागि हामीलाई फोन आउछ । तर, यसको लागि खासै आएको छैन । गुनासो आए हामी कारबाही गछौं । उनले भने–‘बस नम्बर पायौ भने हामी त्यो बस र चालकलाई समाएर सोधपुछ गर्छौं र फेरी जसले नम्बर टिपाएको छ त्यो यात्रुसँग पनि कुरा गरेर गल्ति गरेको रहेछ भने हामी बढि भाडा लिएको भन्दै कारबाही गर्छौ ।’ उनले सवारीसाधनले यात्रुलाई बढी भाडा असुले वा ८ बजेपछि कार्डमा डिस्काउन्ट नदिए तुरुन्तै ट्राफिक प्रहरीलाई खबर गर्न अनुरोध गरे ।

किन सेलायो रात्रिकालीन बस सेवा सञ्चालन ?

प्रतिक्रिया दिनुहोस्