दसैंका लागि फर्किन थाले मुग्लानी



भैरहवा : रोजगारीका क्रममा भारत गएका नेपाली कामदार स्वदेश फर्किने क्रम सुरु भएको छ। स्थलमार्ग हुँदै फर्किएका मुग्लानीका कारण बेलहिया नाका आजभोलि व्यस्त हुने गरेको छ।

 

भारतको हरियाणास्थित होटलमा कार्यरत पर्वतका ४१ बर्से कृष्णबहादुर पाण्डे बेलहिया बसपार्कमा भेटिए। उनले भने, ‘परिवारसँग दसैं मनाउन नपाएको २ वर्ष भइसकेको थियो, यसपालि त जसरी नि परिवारसँगै मनाउँछु भनेर आएँ।’

 

महाराष्ट्रमा भारतीय सेनामा कार्यरत गुल्मीका ३७ बर्से राजन थापा पनि दसैं मनाउन घर फर्किएका छन्। सीमावर्ती सुनौलीमा भेटिएका उनी भन्छन्, ‘भन्या बेला घर आउन पाइँदैन, बल्ल बल्ल दसैंका लागि २० दिनको बिदा लिएर घर फर्किंदैछु।’

 

स्याङ्जाका ३९ बर्से प्रेम बरालले भने बर्सेनि दसैं मनाउन घर आउने गरेको बताए। बेलहिया नाकामा भेटिएका उनले भने, ‘वर्षमा एक पटक दसैं आउँछ, त्यो पनि परिवारसँग नमनाएर कोसँग मनाउने ?’

भारतीय बजारमा घुइँचो

दसैं जति नजिकिँदै छ त्यति नै सिमानाको भारतीय बजार सुनौलीमा नेपालीको घुइँचो बढेको छ। दाल, चिनी, चामल, कपडा, साबुनलगायत सामग्री किन्न दैनिक नेपालीको सुनौली बजारमा ताँती लागेको छ।

 

भारतमा सस्तोमा दैनिक उपभोगका सामग्री पाइने मनोविज्ञानका कारण चितवन, अर्घाखाँची, पाल्पा, नवलपरासीलगायत जिल्लाबाट नेपालीहरू सुनौली आउने गरेका छन्।

 

सुनौलीबाट किनमेल गरेर फर्किँदै गरेकी बुटवल उपमहानगरपालिका शीतलनगरकी गीता ढकालले सुनौलीमा नेपाली उपभोक्ता ठगिइरहेको बताइन्। दसैंका लागि पहिलो पटक किनमेल गर्न आएको बताउने उनले सुनौलीका व्यापारीले चिनी सस्तो मूल्यमा दिएर अन्य सामग्रीमा ठग्ने गरेको सुनाइन्।

 

नाकामा कडाइ

दसैं नजिकएसँगै बढेको तस्करी नियन्त्रण गर्न सिमानामा जनपद र सशस्त्र प्रहरीले कडाइ गरेका छन्। तस्करी र चोरी पैठारी दृष्टिगत गरी प्रहरीले कडा निगरानी र जाँचमा कडाइ गरेको छ।

 

केही समययता जनपद र सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएका कपडा, खाद्यान्नलगायत लाखौँ रुपैयाँका सामग्री बरामद गरेर भैरहवा भन्सार कार्यालयमा बुझाएको जनाएका छन्।

 

सीमा नाकामा सहायता डेस्क

भारतबाट फर्किरहेका नेपालीको सहायताका लागि रूपन्देही प्रहरीले बेलहिया नाकामा हेल्प डेस्क राखेको छ। विगतमा धेरै यात्रु अलपत्र परेको, लुटिएको, दुव्र्यवहारमा परेका घटना दृष्टिगत गरी प्रहरीले हेल्प डेस्क राखेको हो।

 

भारतबाट फर्किने नेपाली यातायात, होटल, खानाबारे जानकारी लिइरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख एवं इन्स्पेक्टर वीरबहादुर थापाले जानकारी दिए।

भारतमा लुटिने क्रम सुरु

दसैं मनाउन फर्किरहेका नेपाली भारतमा लुटिने क्रम सुरु भएको छ। गत वर्ष दसैंमा घर फर्किने क्रममा २० जना नेपाली लुटिएका थिए। यस वर्ष ११ जना लुटिएको इप्रका बेलहियाले जनाएको छ।

 

बाग्लुङ बडीगाउँ नगरपालिका–२ जलजलाका टेकबहादुर विक दसैं मनाउन राजस्थानबाट घर फर्किंदा बीच बाटोमा लुटिएका छन्। फर्किने क्रममा कानुपरमा चिसो र बिस्कुट खाएर बेहोस भएपछि उनको साथमा रहेको ४५ हजार भारतीय रुपैयाँसहित सबै सामान लुटिएको प्रमुख थापाले बताए।

 

कानपुरमा नेपाली मूलकै एक व्यक्तिले उनलाई चिसो र बिस्कुट खुवाएको थियो। नेपाली मूलका व्यक्तिहरूले नै नेपालीलाई भारतमा लुट्ने गरेका छन्। उनले भारतबाट फर्किने नेपालीलाई लुटेराहरूले नसालु पदार्थ खुवाएर लुटपाट गर्ने भएकाले भारतमा कार्यरत आफन्त, साथीभाइलगायतलाई घर फर्किंदा बाटोमा कसैले खान दिए नखानु भनेर सचेत गराउन आग्रह गरे।

 

दसैं मनाउन फर्किने क्रममा लुटिएका नेपालीलाई प्रहरीले उनीहरूको आफन्तसँग सम्पर्क गरेर घर पु याउन सघाइरहेको प्रमुख थापाले बताए।

 

दसैं मनाउन फर्किरहेका मुग्लानीसँग जथाभावी भाडा असुल्ने रिक्साचालक, बस, र ट्याक्सी व्यवसायीलाई पनि सचेत गराइएको ट्राफिक प्रहरी पोस्ट बेलहियाका प्रमुख एवं प्रहरी नायब निरीक्षक नारद कार्कीले बताए। उनले जथाभावी भाडा असुलेको पाइए तत्काल कारवाही गरिने बताए।

 

‘हामीले रिक्साचालक र यातायात व्यवसायीलाई यसबारे सचेत गराएका छौं र हामी पनि सजग छौं’, उनले भने, ‘बढी भाडा असुलेको गुनासो आए तत्काल कारवाही गर्छौं।’ भारतबाट आउने नेपालीलाई दलालहरूले सीमानाका बेलहियामा कमिसनको चक्करमा बढी भाडा लिएर पठाउने गर्छन्।

 

याे खबर अाजकाे अन्नपूर्ण पाेस्टमा छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्