ठेकेदार भाग्ने अवस्थाको अन्त्य भयोः मुख्यमन्त्री गुरुङ



गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ठेकेदार भाग्ने अवस्थाको अन्त्य भएको बताएका छन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको बिँहु–भिमापोखरा जोड्ने गरी डुँडियाखोलामाथि निर्माण थालिएको लामाबगर मोटरेवेल पुलको आज शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले विगतमा ठेकेदारको लापरवाहीले धेरै निर्माणकार्य अलपत्र भए पनि अहिले त्यस्तो नभएको बताए ।

उनले गण्डकी प्रदेश सरकारले निर्माण गर्न थालेका हरेक आयोजनाका ठेकदारले सरकारको अपेक्षा अनुसार काम गर्न थालेको बताउँदै ठेकेदारले काम गर्ने वातावरण बल्ल तयार भएको बताए । “विगतमा ठेकदारको मुखसमेत देख्न जनताले पाएनन्”, मुख्यमन्त्री गुरुङले भने, “अहिले ठेकदारलाई लगाम लगाएर काममा लगाउने परिस्थिति गण्डकी प्रदेशले सिर्जना गरेको छ ।” ठेकेदारलाई काम अलपत्र पारेर जाने छुट अबका दिनमा नरहेको दाबी गर्दै मुख्यमन्त्री गुरुङले जनताले समेत निर्माण कार्यको खबरदारी गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश सरकार आएपछि अलपत्र अवस्थामा रहेका धेरै पुलहरु निर्माण सम्पन्न भएको भन्दै मुख्यमन्त्री गुरुङले अबको तीन वर्षभित्र प्रदेशमा १३० वटा मोटरेवल पुल निर्माण गरिसक्ने बताए । “सडकले छोएर गएका अत्यावश्यक सबै स्थानमा तीन वर्षभित्र मोटरेबल पुल बनिसक्छ”, गुरुङले भने । पाँच वर्षमा गण्डकी प्रदेशका सबै खोलामा मोटरेबल पुल बनिसक्ने उनले दाबी गरे ।

उनले तीन वर्षमा गण्डकी प्रदेशका सबै घरमा ‘एक घर एक धारा’ पुग्ने, विद्युत्को केन्द्रीय प्रशारणलाइन पु¥याउने जस्ता कार्य सम्पन्न गर्ने बताए । “विकासमा प्रदेशका कुनै भागमा भेद्भाव हुँदैन, मुख्यमन्त्री गण्डकी प्रदेशको साँझा मान्छे हो”, उनले भने, “लामबगर पुल निर्माण गरेपछि काठेखोला गाउँपालिकाका भिमपोखरा र धम्जालगायतका यात्रुलाई सहज हुनेछ ।”

सिंहदरबारले दुरदराज नदेखेको भन्दै स्थानीय र प्रदेश सरकारको कल्पना गरेको भन्दै सङ्घीयताले विकासको मूल घर–घरमा आएको छ भने । उनले गण्डकी प्रदेश ८३ हजार गरिब परिवारलाई लक्षित गरी आगमी वर्षदेखि गरिबी न्यूनीकरण कार्यक्रम ल्याउने बताए । प्रदेश सरकारको बजेटमा निर्माण थालेको उक्त मोटरेबल पुल निर्माण सम्पन्नपछि १२ महिनै यातायातका साधन सञ्चालनमा आउनेछन् ।

आठ मिटर चौडाई र ३० मिटर लम्बाइरहेको उक्त मोटरेवल पुलको २०७७ साल माघ २५ गते भित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ साल साउन २५ गते एमएस निलगिरी नेशनल जेभी निर्माण कम्पनी ललितपुरले निर्माणको जिम्मा लिएको छ । सिङ्गल स्पान मोडेलमा निर्माण हुन लागेको पुल रु तीन करोड ३१ लाख ६३ हजार ६७९ मा निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीका आधिकारीक प्रतिनिधि सुनिलसिंह खत्रीले जानकारी दिए । निर्माण सम्पन्न गर्ने सम्झौतमा मिति भन्दा अगावै पुल निर्माण गरी सक्ने खत्रीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्