नयाँ आईजीपीले गरे मुख्यालयमा हेराफेरी, डीआईजीलाई विभागको जिम्मेवारी दिने तयारी



काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक(आईजीपी) खनालले राखेका घुमवाहरुलाई फिर्ता गरेका नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीले आफ्नो सचिवालयसँगै कर्मचारी प्रशासन शाखामा हेरफेर गरेका छन् ।

पूर्वगृहसचिव प्रेम राईका विश्वासपात्र मानिएका प्रहरी उपरीक्षक एसपी चन्दकुवेर खापुङलाई त्यहाँबाट हटाएर उक्त पदमा कमल जिसीलाई ल्याईएको छ । प्रहरी संगठनभित्र महत्वपूर्ण मानिने कर्मचारी प्रशासन शाखामा प्रमुखको आईजीपीले हेराफेरी गरेपछि यसले प्रहरी मुख्यालयमा नयाँ तरंग ल्याएको छ । त्यसैगरी आईजीपीको सचिवालयमा एसपी भुपेन्द्र खत्रीलाई ल्याईएको छ ।

यसअघि पनि सचिवालयको अनुभव संगालेका खत्री यसअघि नेपाली कांग्रेसका नेता तथा सांसद महोमद अफ्ताफ आलमलाई गिरफ्तार गर्दा रौतहट जिल्लाको प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।

केही समयअघि उनलाई रौतहटबाट प्रहरी मुख्यालयमा सरुवा गरिएको थियो । यसैबीच सरकारले रिक्त तीन एआईजी पदमा बढुवा नगर्दा निमित्तको भरमा चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

त्यस्तै आईजीपी ज्ञवालीले एआईजी बढुवा नहुन्जेलसम्मका लागि एआईजी प्रमुख हुने तीन ठाउँमा बढुवाको लाइनमा रहेका डीआईजीहरुलाई निमित्त दिने तयारी गरेको श्रोतको दाबी छ ।

श्रोतका अनुसार आईजीपी ज्ञवालीका नातेदार समेत रहेका डीआईजी सूर्य उपाध्यायलाई मानव श्रोत तथा प्रशासन विभाग र आईजीपीको प्रतिस्पर्धामा रहेका डीआईजी तारणी लम्साल र केन्द्रीय अनुसन्धा ब्यरोका प्रमुख डीआईजी निरज शाही मध्ये एकलाई प्रष्ठिानको जिम्मेवारी तयारी छ ।

त्यस्तै एआईजीका प्रवल दाबेदार डीआईजी शैलेस थापालाई प्रवक्ताकै जिम्मेवारीसहित सचिवालयमै राख्न र डीआईजी हरि पाललाई अपराध अनुसन्धान विभागको जिम्मेवारी दिने चर्चा मुख्यालयमा छ ।

प्रतिक्रिया दिनुहोस्