बलात्कारका फरार अभियुक्त १० वर्षपछि पक्राउ



काठमाडौं : बलात्कार र कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१८ का ३१ वर्षीय विष्णु चौधरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । 

 

तुलसीपुर उप–महानगरपालिका–१८ स्थित एक घरमा लुकेर बसेको अवस्थामा चौधरी पक्राउ परेका हुन् । उनलाई कारबाहीका लागि कारागार पठाउने प्रहरीको तयारी छ । 

 

२०६५ चैत १५ गते महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा प्लस टुमा अध्ययनरत १७ वर्षीया कल्पना खनाल आफन्तकोमा गएर तुलसीपुरबाट घोराहीतर्फ पैदल आउँदै गरेको बेला बेलझुन्डीस्थित संस्कृत विश्वविद्यालय चोकको प्रतीक्षालय नजिकबाट अपहरणमा परेकी थिइन् । 

 

त्यही ठाउँको दक्षिणमा बिजौरीस्थित टिनको घुम्तीमा लगी नसालु पदार्थ खुवाई उनीमाथि रातभर सामूहिक बलात्कार भएको थियो । सामूहिक बलात्कारका कारण विछिप्त कल्पनाको घटना भएको ८४औं दिनमा मृत्यु भएको थियो ।

 

बलात्कार कसुरमा सर्वोच्च अदालतले २०७१ फागुन ३० गते चौधरीलाई १ वर्ष ११ महिना २ दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि चौधरी फरार थिए ।

 

चौधरीमाथि संस्कृत विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमण गरेको र विश्वविद्यालयको भौतिक सम्पत्ति तोडफोड गरी चोरी गरेको घटनामा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

उक्त बलात्कार घटनामा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेका छन् । घटनामा संलग्न मोहन पुन भने अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्