भदाैसम्म पर्यटन मन्त्रालयकाे खर्च प्रतिशत शून्य



काठमाडौं :  चालु आर्थिक वर्ष (आव) २०७५/७६ को दुई महिनासम्ममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च शून्य देखिएको छ। आइतबार संघीय संसदकाे अर्थ समितिमा अर्थ मन्त्रालयले दिएको जानकारी विवरणमा भदौसम्ममा पर्यटन मन्त्रालयले शून्य प्रतिशत बजेट खर्च गरेको उल्लेख छ। 

 

चालु आर्थिक वर्षको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १ अर्ब २१ करोड ३६ लाख रुपैयाँ विनियोजन दिएको थियो। तर, दुई महिना बितिसक्दा पनि मन्त्रालयको खर्च शून्य छ। 

 

भदौ मसान्तसम्म सबैभन्दा धेरै खर्च गर्नेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छन्। ती मन्त्रालयले ३-३ प्रतिशत बजेट खर्च गरेका छन्। चालु आवमा उर्जा जलस्रोतको बजेट ४० अर्ब ४५ करोड छ भने भौतिक पूर्वाधारको ९३ अर्ब ७२ करोड रुपैयाँ छ। 

 

सोही अवधिमा खानेपानी र सहरी विकास मन्त्रालयले १/१ प्रतिशत बजेट खर्च गरेका छन्। चालु आवमा खानेपानीलाई १७ अर्ब २७ करोड रुपैयाँ र सहरीलाई १७ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको थियो। 

 

अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानाले आव अन्तिमताका पुँजीगत बजेट उच्च हुने गरेको बताउँदै यसमा अर्थ मन्त्रालय मात्रै नभएर सम्बन्धित मन्त्रालय पनि जिम्मेवार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्