पशुपतिनाथमा नागाबाबाहरुको बिगबिगी



काठमाडौं : हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड मध्येको एक चाड हो महाशिवरात्री । शिवरात्री नजिकिएसँगै पशुपती क्षेत्रमा साधुहरुको चलहपहल बढ्न थालेको छ । भगवान शिवको आरधनाका लागि विशेष मानिने यो पर्वका लागि नेपालका विभिन्न ठाउँसहित भारतबाट धेरै साधक (नागाबाबा)हरु पशुपतीमा आउने क्रम जारी छ ।

यही पर्वको लागि हरेक वर्ष करिब ४ हजारको हाराहारीमा विभिन्न प्रकारका साधुहरु नागा, दिगम्बर, लालमाहोरा, निर्वाणी लगायतका आउने गर्छन् । ति साधुहरु उपत्यका बाहिर, भारत तथा तेस्रो मुलुकहरुबाट आउने गर्छन् ।

पशुपतीमा देखिने साधुहरुमा कोही अघोरी, कोही गेरु वस्त्रमा देखिने साधरण साधु त कतै नागाबाबाहरु हुन्छन् । ती मध्ये अघोरी र नागाहरु एउटा कठोर तपस्या गरेर आएका साधकहरु हुन्छन् ।

सन्यास परम्परामा नागा दिगम्बर रुप धारण गर्नेको समूह हो, पशुपति पनि दिगम्बरस्वरुप भएको ज्योतिर्लिङ्ग हो, यसैले प्रत्येक वर्ष दिगम्बर रुप धारण गरेका नागाले दिगम्बरस्वरुप भएको पशुपति ज्योतिर्लिङ्गमा साक्षात्कार गर्ने प्राचीन एवं अर्वाचीन परम्परा हो ।

कसरी बनिन्छ नागा ?
नागा साधुहरूको समूहमा सामेल हुने प्रक्रियाको लागि करिब ६ वर्ष लाग्छ । यस समयमा नयाँ सदस्यहरूले लगौंटी बाहेक अरू केही पनि लगाउँदैनन् । कुम्भ मेलामा अन्तिम प्रण गरेपछि तिनीहरूले लगौंटी पनि त्याग गर्छन् । त्यसपछि उनीहरु जीवनभरी नै कुनैपनि वस्त्र लगाउँदैनन् ।

कुनै पनि क्षेत्रमा नागा बन्न आउने व्यक्तिलाई राम्ररी अनुसन्धान गरेपछि छानिएका योग्य व्यक्तिलाई मात्र यसमा प्रवेश दिइन्छ । नागा बन्नुपूर्व ऊ लामो समयसम्म ब्रहृमचारीको रूपमा जिउनुपर्छ । त्यसपछि ऊ महान मान्छे बन्छ र त्यसपछि मात्रै उसलाई त्यो समूहमा प्रवेश गराइन्छ । अन्तिम प्रक्रिया महाकुम्भको समयमा हुन्छ । जसमा उनीहरुले आफ्नै पिण्डदान र पूजा गर्ने गरिन्छ ।

कस्ता हुन्छन् नागा र अघोरी ?
भगवान शिव एवम् उनका अवतारलाई मान्ने विभिन्न सम्प्रदायहरु हुन्छन् । ती मध्ये भगवान शिवलाई कठोर तपस्याका साथ मान्ने नागा र अघोरी हुन् । यीनिहरुको आआफ्नै शैलीको विशेषता हुन्छ ।

नागा बाबाहरू शैब सम्प्रदाय अन्तर्गत पर्छन । उनीहरु विभिन्न तीर्थ वा धार्मिकस्थल घुमेर गुजारा चलाउँछन् । शिवरात्रीमा पशुपतिनाथ आएका उनीहरु यताबाट गंगासागरतिर लाग्छन् । सनातन हिन्दु धर्ममा नागा बाबाहरुलाई एक किसिमका सैन्य शक्ति जस्तै मानिन्छ । अरु सनातन धर्मको संरक्षकका रुपमा उनीहरुले मान्यता पाएका छन् ।

नागा बाबा भन्ने वित्तिकै सधैं नांगै हिँड्ने भन्ने पनि कतिको बुझाइ हुन्छ, तर त्यस्तो हुँदैन । उनीहरु शिवरात्रीको केही दिन अगाडिदेखि पशुपतिनाथको प्रांगणमा मात्रै नांगै बस्छन् र आफ्नो अनुशासनमा बस्छन् । पुरानो संस्कार र संस्कृति अनुसार मन्दिर बाहिर नांगै हिँडेमा अनुशासन भंग गरेको ठर्हछ ।

नागाबाबाहरु यौनांग देखाएर बसेता पनि उनीहरुमा काम बासना, आशक्ति र यौन चाहना हुँदैन । साधनाबाट उनीहरुको काम बासना मरिसकेको हुन्छ । देख्नमा यौनांग देखिन्छ, तर त्यसको औचित्य हुँदैन । उनीहरु मध्ये केहीले यौनाङ्ग प्रयोग गरेर काठ वा ढुंगा उचालेर खेला देखाउँछन् । यसरी हेर्दा त्यो मासुको डल्लो जस्तो मात्रै देखिन्छ ।

पशुपतिनाथलाई भारतमा रहेका केदारनाथको शिरोभाग मानिन्छ । त्यस हिसाबले धेरै तिर्थालु आउँछन् । नागाबाबाहरु पशुपतिनाथका अनुयायी हुन् । उनीहरुलाई शिवरात्रीमा स्वागत तथा विदाई गर्ने सदियौं पुरानो परम्परा हो । पशुपति प्रांगणमा बसुञ्जेल मुल मन्दिर बाहिरका हनुमानजी, बुढानिलकण्ठ, गरुडनारायणमा तीर्थालुले चढाएका भेटी पनि नागा बाबाले नै लिने चलन छ ।

नागा र अघोरीको भेषभुषा देख्नको लागि उस्तै देखिन्छ । तर, उनीहरुको साधु बन्ने प्रक्रिया र रहनसहन तथा तप साधनामा धेरै अन्तर पाइन्छ । नागा साधु कुम्भमा बढेर नागाको भेष धारा गर्छन् भने अघोरीहरु कुम्भमा जाँदैनन् ।

हेर्दा सामान्य देखिए पनि अघोरीको साधना र व्यवहारिक पनि निकै जटिल हुन्छ । यो विधागत ज्ञानको उत्कर्षमा पुगेको साधक वा योगी मसानघाटमा एक्लै रात बिताउने, वर्षौ स्थान बाँधेर त्यही ध्यान गर्ने र ध्यानकै अवस्थामा उनीहरुलाई भोक लागेको महसुस भएमा ध्यान भंग नगरी जलाइरहेका लाशहरुबाट मासु तानेर निशंकोच भोजन गरी भोक तृप्त पार्ने काम गर्दछन् ।

यो विधाको मान्यताअनुसार चीसो ठाउँमा नाङ्गै महिनौ र वर्षौं भगवान शिवको साधनामा हराउँदा ध्यानकै बेला शिवका यौन लिलाहरु अन्तरमनले देख्न पुगी अघोरीहरुमा यौनउत्तेजना पैदा हुन गएमा त्यसलाई ध्यान र ज्ञानको अपूर्व मिलन वा ज्ञानप्राप्तीका रुपमा लिइन्छ र ध्यान भंग नगरिकन उनीहरु घाटमा ल्याइएका लाशसँग ध्यानकै अवस्थामा यौनसम्पर्क गर्न पुग्छन् ।

तर, तान्त्रिक विधि र मान्यताअनुसार उनीहरुले कहिल्यै पनि जीवित मानिससँग यौन सम्पर्क गर्दैनन् र गर्नु पनि हुँदैन । यदि यसो गरेमा उनीहरु अपवित्र हुन गई कहिल्यै पनि शिवका उपाशक हुन सक्दैनन् त्यही विन्दुबाट उनीहरु धर्म, अर्थ, काम मोक्षको उद्देश्यबाट बिचलित भएको मानिन्छ ।

शिवरात्रीका बेला पशुपतिनाथ मन्दिर परिसरमा तमाशा र हाँसोको पात्र हुने यिनीहरु अत्यन्तै सहज, सौम्य र गम्भीर रुपमा प्रकट भएर गम्भीर जीवनदर्शनको गहन पक्षमा छलफल गर्ने गरेको पनि देखिन्छ ।

शिवरात्रीमा पशुपतीमा आउने नागा बाबालाई निषेध गर्नुपर्छ भन्ने आवाज उठिरहन्छ, यस्ता बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ । खासमा नबुझेर विरोधमा आवाज उठ्ने गरेको हो । तर, शिवरात्रिका अवसरमा पशुपतिमा साधु सन्तका नाममा अनेकथरि बाबा आउने गाँजा, भाङ, धतुरो, चरेशजस्ता लागू पदार्थको खुलारुपमा सेवन एवं बेचबिखन हुने गर्छ । नागा बाबा, अघोरीको भेषमा आएकाहरुले गर्ने विभिन्न अनैतिक क्रियाकलापबाट भने बच्नु र यिनीहरुलाई पूर्णरुपमा निषेध गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्