कक्षा बहिष्कार गर्ने आंशिक प्राध्यापक संघको निर्णय



जनकपुरधाम : नेपाल आंशिक प्राध्यापक संघ राराब ईकाइ समिति जनकपुरले आफ्नो पूर्वघोषित कार्यक्रम अनुसार पठनपाठन ठप्प गरि कक्षाहरु बहिष्कार गर्ने निर्णय गरेको छ ।

आफूहरुलाई करारमा नियुक्ति गर्नुपर्ने, बाँकी रहेको तलब तत्काल उपलब्ध गराउनु पर्ने लगायतका माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।

नेपाल आंशिक प्राध्यापक संघ राराब ईकाइ समितिको पूर्वघोषित कार्यक्रम अनुसार देशव्यापी रुपमा चलिरहेको आंशिक प्राध्यापकहरुको आन्दोलनलाई समर्थन गर्दै फागुन ८ गते बिहीबारदेखि फागुन १३ गते मंगलबारसम्म आ-आफ्ना कक्षाहरु बहिष्कार गर्न सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई अनुरोध गरिएको नेपाल आंशिक प्राध्यापक संघ राराब ईकाइ समिति जनकपुरका अध्यक्ष इन्द्रदेव यादवले बताए ।

त्रिभुवन विश्वविद्यालय मातहतका आंशिक प्राध्यापकहरु दैनिक ज्यालादारीका भरमा दशकौंदेखि आफ्नो श्रम बेच्न बाध्य रहेको उनले बताए । विगतका दिनहरुमा आंशिक शिक्षकहरुले आफ्नो श्रमको उचित सम्मान र यथोचित पारिश्रमिक माग गर्दै पटक पटक आवाज उठाएपनि आफुहरुको माग सम्बोधन नगरिएको अध्यक्ष यादवको गुनासो छ । उनले भने,‘गत बर्षमा गरिएको चरणबद्ध आन्दोलनबाट तत्कालिन सरकार आंशिक शिक्षकहरुलाई करारमा नियुक्ति गर्न सकारात्मक देखिएतापनि हालसम्म कार्यान्वयन हुनसकेको छैन् । त्यसैले अहिले हामीले फेरि बिभिन्न आंगिक क्याम्पसहरुमा संघर्षका कार्यक्रमहरु सुरु गरेका छौं ।’

आफुहरुको माग एक हप्ताभित्र सम्बोधन नगरिए सशक्त आन्दोलनमा उत्रने नेपाल आंशिक प्राध्यापक संघ राराब ईकाइ समिति जनकपुरका सचिव उमेश प्रसाद पोखरेलले चेतावनी दिएका छन् । जनचाहना एवं समयको मागलाई सम्बोधन गर्ने क्रममा त्रिभुवन विश्वविद्यालयले देशभरी ६२ वटा आंगिक क्याम्पसहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्