पोखरा स्पोर्टस् अवार्डबाट ६ लाख ११ हजार बचत



पोखरा : नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको चौथो संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’बाट ६ लाख ११ हजार ७५५ बचत भएको छ ।

पोखरामा गत जेठ २४ गते सम्पन्न अवार्डबाट १२ लाख ३१ हजार ७५५ आम्दानी भएको तथा ६ लाख २० हजार विभिन्न शीर्षकमा खर्च भई सो रकम बचत भएको आज आयोजित साधारण सभामा आय व्यय सार्वजनिक गरिएको छ ।

बचत रकम खेल पत्रकारको दक्षता तथा क्षमता विकास लगायतमा खर्च गरिने मञ्चका अध्यक्ष एकराज गिरीले बताए । अवार्ड सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारले ५ लाख, पोखरा महानगरले १ लाख ४७ हजार ७५० तथा अन्य विभिन्न सार्वजनिक तथा निजी संघ संस्थाले सहयोग उपलब्ध गराएका थिए ।

साधारणसभाको उदघाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुुनमगरले खेल पत्रकारको क्षमता विकासलगायतका कार्यक्रमका लागि सरकारले सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए ।

विधागत पत्रकारिताको विकासले मात्र समग्र पत्रकारिताको विकास र समुन्नतिमा सघाउने उनको भनाई थियो । मन्त्री पुनले खेलकूदको जग विद्यालयलाई बनाउने नीति अनुसार ‘एक विद्यालय एक खेल मैदान’को योजना सरकारले अघि सारेको स्पष्ट पारे ।

“खेलकूदको आधारभूमि विद्यालय हुन, त्यसैले विद्यालयमा खेलकूदको भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ, सरकार सोही अनुसार अघि बढेको छ”, उनले भने । मञ्चले पाचौँ संस्करणको स्पोटर्स अवार्ड आगामी वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गर्ने निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्