सचिव कुट्ने मन्त्रीको विरोधमा पेन डाउन



जनकपुरधाम: प्रदेश-२ का निजामति सेवाका कर्मचारीहरुले आज ३ घण्टा पेन डाउन गरी कामकाज ठप्प पारेका छन् । सचिवलाई मन्त्रीले कुटपिट गरेको विरोधमा उत्रेका कर्मचारीहरूले प्रदेशका सबै सार्वजनिक कार्यालयमा तीन घन्टा 'पेन डाउन' गरेका हुन्। 

कर्मचारीहरुले कामकाज नगरेपछि सेवाग्राही मर्कामा परेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै कुटपिट गरेकाे विरोधमा कर्मचारीले 'पेन डाउन' गर्दै विरोध प्रदर्शन गरेका थिए।

घटनामा दोषीलाई कारबाहीको माग गर्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आह्वानमा कर्मचारीले आन्दोलन थालेका छन्। शुक्रबार प्रदेशका आठै जिल्लामा रहेका कार्यालयहरुमा बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा 'पेन डाउन' गरी बिरोध गरिएको हो। कर्मचारीहरूले शुक्रबार बैठक बसेर आन्दोलनको आगामी रणनीति तय गर्ने नेपाल मधेसी निजामती कर्मचारी मञ्चका केन्द्रीय महासचिव बेचन कुमार महतोले बताए।

प्रतिक्रिया दिनुहोस्