वीरगन्जमा तेस्रो अन्तरविद्यालय स्तरिय कबड्डी प्रतियोगिता सुरु 



वीरगन्ज : वीरगन्जमा शुक्रबारदेखि शुरु भएको तेस्रो अन्तर विद्यालय स्तरिय कबड्डी प्रतियोगितामा विद्या सदन मावि र कन्चनजंघा मााविले विजयी शुरुवात गरेका छन्  । 

 

वीरगन्जस्थित विपद् व्यवस्थापन कार्यदलको खेल मैदानमा आयोजित कबड्डी प्रतियोगिताको छुट्टाछुट्टै खेलाइएको पहिलो खेलमा जित हात पार्दै विद्या सदन र कन्चनजंघा माविले विजयी शुरुवात गरेका हुन् ।  

 

उद्घाटन खेलमा छात्रतर्फ विद्या सदन माविले जिएच माविको बी टिमलाई पराजित गरेको हो । निर्धारित ४० मिनेटको खेलमा विद्यासदन माविले ८४ र जिएचपी माविको बी टिमले ३५ अंक प्राप्त गरेको हो । 

 

उद्घाटन खेलको म्यान अफ दी म्याच विद्या सदन माविका कप्तान फौवाद आलम घोषित भए । छात्रतर्फ नै भएको दोस्रो खेलमा कन्चनजंघा माविले जिएचपी माविको ए टिमलाई पराजित गर्‍यो । 

 

निर्धारित समयको खेलमा कन्चनजंघाले ७९ र जिएचपी ए टिमले १४ अंक प्राप्त गरेको हो । उक्त खेलको म्यान अफ दी म्याच कन्चनजंघका दिलसाद आलम घोषित भए । 

 

शुक्रबार नै भएको छात्रा तर्फको खेलमा वीरगन्ज पब्लिक स्कुलको ए टिम विजयी भएको छ । वीरगन्ज पब्लिक स्कुलको ए टिमले एन्जल इन्टरनेशनल स्कुललाइ पराजित गरेको हो ।

 

वीरगन्ज पब्लिक स्कुलको ए टिमले ४२ अंक प्राप्त गर्दा एन्जल स्कुलले भने १० अंकमा नै चित्त बुझाउनु पर्‍यो । उक्त  खेलको म्यान अफ दी म्याच वीरगन्ज पब्लिक स्कुलको ए टिमकी श्रुति परियार घोषित भइन् ।

 

प्रतियोगितामा शनिबार छात्र र छात्राको गरी पाँच वटा खेल हुनेछ । शनिबार छात्रतर्फ गौतम मावि र मुनलाइट मावि, एन्जल इन्टरनेशनल डिएभी मावि तथा जिएच पि माविको बी टिम र वीरगन्ज पब्लिक स्कुलबीच खेल हुनेछ । 

 

 छात्रातर्फ भने शनिबार विद्यासदन मावि र गौतम मावि तथा कादम्बरी एकेडेमी र वीरगन्ज पब्लिक स्कुलको बी टिमबीच खेल हुने प्रतियोगिताका संयोजक अमीत अग्रवालले जानकारी दिए । 

 

म्याक्स इन्टरटेन्मेन्ट एण्ड एड्भरटाइजिङले आयोजना गरेको कबड्डी प्रतियोगिताको उद्घाटन राष्ट्रिय जनता पार्टीका महासचिव राजेशमान सिंहले गरेका थिए  । 

 

उदघाटन कार्यक्रममा महासचिव सिंह, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, नेपाल खेलकुद विकास समिति पर्साका अध्यक्ष निशान्त लामिछाने, वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर गुप्तालगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।

 

 प्रतियोगिताको उद्घाटन समारोहमा आयोजित मार्च पास र साँस्कृतिक कार्यक्रममा जिएचपि र मुनलाईट मावि प्रथम भएको थियो । माघ १० गतेसम्म चल्ने प्रतियोगितामा छात्र र छात्रा गरी  वीरगन्जका विभिन्न निजी विद्यालयका २०  टिमले भाग लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्