सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्री बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोड घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गरि निस्पक्ष अनुसन्धान गर्न कांग्रेसले प्रधानमन्त्री ओलीसँग माग गरेको हो ।

आज (बिहीबार) प्रेस वक्तव्य जारी गर्दै कांग्रेसले ७० करोड कमिसन मागेको विरोध गर्दै सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी सँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए । तर, स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’ प्रवक्ता शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ–‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्कालन बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्