ओली र प्रचण्डबीच भेटवार्ता, सञ्चारमन्त्री बाँस्कोटाबारे छलफल



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (बिहीबार) बिहान भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्रीको निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

स्रोतका अनुसार ओली र प्रचण्डबीच मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने विषयमा छलफल भएको छ ।

सेक्युरिटी प्रेस खरिदमा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको सार्वजनिक अडियो सम्वादमा सुन्न सकिन्छ ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको सम्वादमा दुईबीचको सम्बादमा घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ । बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्