तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, ६ नेपालीको मृत्यु



काठमाडौं : नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार बिहान सलेम बेंगलरु नेशनल हाइवेमा नेपाली चढेको मिनीबस दुर्घटना भएको हो ।

बसमा सवार अन्य १८ जना घाइते भएका छन् । उनीहरुको नजिकैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मध्यरातमा बसले युटर्न लिन खोज्दा राजमार्गमा विपरित दिशाबाट आएको बससँग ठोक्किँदा दुर्घटना भएको हो । बेंगलरुतर्फ जाँदै गरेका उनीहरु विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए ।

प्रहरीले २ जना महिलासहित ६ जनाको मृत्यु भएको जनाएको छ । जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । सलेमका प्रहरी उपरीक्षक एस दीपा गनिगरसहित प्रहरी अधिकारी घटनास्थल पुगेका छन् । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटना भएको गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरु नेपालको सुनसरी जिल्लाबाट गएका हुन् । टोलीमा ३४ जना थिए । फेब्रुअरी ६ अर्थात माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको तीर्थयात्रामा थिए ।

प्रतिक्रिया दिनुहोस्