दिलीपलाई शहिद घोषणा गराउन माग गर्दै मधेश बन्दको घोषणा



जनकपुरधाम : अवैध बालुवा, गिट्टी उत्खनन विरुद्धका अभियन्ता स्वर्गीय दिलीप महतोलाई शहिद घोषणा गर्न माग गर्दै मधेश बन्द लगायतका चरणवद्ध आन्दोलनको घोषणा गरिएको छ ।

अवैध उत्खननको विरोध गर्दा योजनावद्ध तरिकाले हत्या गरिएका धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ बर्षिय युवक दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्न माग गर्दै पिछडावर्ग समाज ओविसीले मधेश बन्द लगायत चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।

बिहिबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै ओविसीका केन्द्रिय अध्यक्ष रामकुमार महतोले दिलीपलाई पर्यावरण शहिद घोषणा र मुख्य योजनाकारलाई पक्राउ गर्न लगायतका ५ बुदे माग गर्दै दोश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

माग पुरा गराउनका लागि दोश्रो चरण अन्तर्गत प्रदेश नम्बर २ को ८ वटै जिल्लामा फागुन १० गते देखि १८ गतेसम्म हरेक जिल्लामा अन्तरक्रिया गर्ने, फागुन २१ गते विरोध प्रदर्शन गर्ने, फागुन २४ गते काठमाण्डौँको माइतिघर मण्डलामा विरोध प्रदर्शन, फागुन २५ गते नेपाल सरकारलाई ध्यानाकर्षण गराइने र चैत १ गते मधेश बन्द गर्ने लगायतका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

अध्यक्ष महतोले प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्नुपर्ने, घटनाको सुक्ष्म अनुसन्धानका लागि उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने, दोषिलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, पिडित परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्था र अवैधरुपले बालुवा, गिट्टी उत्खनन तथा चुरे दोहन बन्द गर्नुपर्ने लगायतका आफुहरुको माग रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्