विद्यार्थी नै नभएको विद्यालयमा ९ जना शिक्षक



जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाको वडा नम्बर-९ मोरहास्थित प्राविधिक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रामविलाश मण्डलले आफ्नो दिनचार्य अहिले बिहान विद्यालय जाने र दिउँसो घर फर्केर बिताउँदै आएका छन् ।

एक जना विद्यार्थी पनि भर्ना नभएपछि यस विद्यालयका शिक्षकहरु घर बसेर र प्रधानाध्यापक भने विद्यालय खोलेर समय बिताउन बाध्य छन् । तराई मधेशको अधिकांश सामुदायिक विद्यालयहरुको वेथिती कसैबाट लुकेको छैन ।

वि.सं. २०१८ सालमा स्थापना भएको यस विद्यालयमा अहिले एउटा पनि विद्यार्थी अध्ययन गरिरहेका छैन् । तर विद्यालयमा ९ जना शिक्षक शिक्षिका कार्यरत रहेका छन् । कक्षा ८ सम्म पढाई हुने यो विद्यालयको रजिष्टरमा २ सय विद्यार्थी अध्यनरत रहेको तथ्यांक छ ।
तर आठवटै कक्षाको विद्यार्थीको हाजिरी रजिष्टर चेक गर्दा कुनै पनि दिन एउटा पनि विद्यार्थीको उपस्थिती देखिदैन । विद्यार्थी नै नभएपछि शिक्षकहरु विद्यालयमा सधैं हाजरी हुने र हाजिरी गरेर शिक्षक घर फर्केर निजी काममा लाग्छन् । दिउँसो २ बजेसम्म विद्यालय बन्द रहन्छ ।

प्रधानाध्यापक रामविलाश मण्डलसँग विद्यालय किन बन्द छ भनेर सोध्दा उनले विद्यार्थी नरहेको र सबै शिक्षक हाजिरी गरेर आ–आफ्नो घर गएको बताए । उनले तत्कालै विद्यालयको कार्यालय खोले । हाजिरी रजिष्टरमा सबै शिक्षकको हाजिरी थियो । विद्यालयको शिक्षकको नामावलीमा प्रधानाध्यापक रामविलाश मण्डल, शिक्षकहरु रामेश्वर रजक, रामबली पजियार, शिक्षिका गीता बराल मण्डल र बालविकास शिक्षिका शशिकला मण्डलले हाजिरी गरेको पाइएको छ ।

विद्यालयमा एउटा पनि विद्यार्थी नहुँदा आन्तरिक स्रोतबाट विद्यालयले मनोमानी दुई जना शिक्षक नियुक्त गरेको छ । जसमा हरिनारायण मण्डल र नागेश्वर मण्डललाई निजी श्रोतबाट राखिएको छ । कार्यालय सहायकमा विल्टु मण्डललाई राखिएको छ । विद्यार्थी नै नरहेको यस विद्यालयमा शिक्षकको तलब भत्ता बापत मासिक १ लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको छ ।
विद्यालयमा विद्यार्थी आउँछन् कि आउँदैनन् भन्ने जिज्ञासामा प्रधानाध्यापक मण्डलले जवाफ दिए,‘पढ्न केहि विद्यार्थी आउँछन् ।’ तर हाजीरी रजिष्टरमा हेर्दा एकजना पनि विद्यार्थीको हाजीरी भेटिएन ।

विद्यालयको हाजिरी रजिस्टरमा कक्षा ८ मा २८ जना विद्यार्थीको नामांकण गरिएको थियो । कक्षा ७ मा २१ जना, कक्षा ६ मा २० जना, कक्षा ५ मा १२ जना, कक्षा ४ मा १६ जना, कक्षा ३ मा ३० जना, कक्षा २ मा २६ जना, कक्षा १ मा ५२ जना र बालबिकासमा १६ जना विद्यार्थीको नामाकारण रजिस्टरमा देखिन्छ । तर हाजीरी रजिष्टरमा एक जना पनि विद्यार्थीको हाजरी भएको देखिएन ।

मोरहा गाउँमै रहेको यस विद्यालयमा नपढेर त्यहाँका बालबालिका छिमेकको गाउँ झटियाहीस्थित रामजानकी माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन् । रामजानकी मा.विबाट पढेर फर्केका विद्यार्थीले यस विद्यालयमा पढाइ नहुँदा छिमेक गाउँको विद्यालमा पढ्न जाने गरेको बताए ।
पढाइ नै नहुने विद्यालयको वार्षिक आम्दानी २ लाख ९२ हजार रुपैयाँ छ । विद्यालयको एउटा पोखरीबाट वार्षिक २ लाख ८० हजार र १४ कठ्ठा उब्जाउ जग्गा ठेक्का वापत १२ हजार रुपैयाँ वार्षिक आम्दानी आउने गरेको प्र.अ मण्डलले बताए ।

विद्यालयको यर्थाथ संचारकर्मीले थाहा पाएपछि प्र.अ मण्डलले विद्यार्थी नै पढ्न नआएको उल्टै गुनासो गरे । ‘मैले पटक पटक व्यवस्थापन समिति र अभिभावकहरुलाई भेटेर गुनासो गरे । तर कसैले वास्ता गरेनन् । सहयोग गरेनन’ उनले भने ।

पढाई नहुँदा विद्यार्थीलाई छिमेक गाउँमा पठाउनु परेको बाध्यताले स्थानीयबासिन्दा शिक्षक र राजनीतिकर्मीहरुमाथि आक्रोशित छन् । विद्यालयमा राजनीति बढी हुन थालेपछि स्थानीयहरुले आ–आफ्ना बालबालिकालाई अर्कै विद्यालयमा पठाउन थालेको बताउँछन् । ‘शिक्षकहरुलाई राजनीति गर्नबाट फुर्सद छैन, पढाउँदैनन् । कसले आफ्नो छोराछोरी र बालबालिकाको भविष्य बिगार्छन ? त्यसैले हामी बालबालिकालाई छिमेक गाउँको विद्यालयमा पठाउँछौं ।’ स्थानीय भुखनी देवीले अक्रोस पोख्दै भनिन् ।

हंसपुर नगरपालिका भित्र पर्ने यस विद्यालयलाई हेरविचार गर्ने सम्बन्धीत निकाय कोहि नहुँदा शिक्षकहरुले काम नै नगरि तलब खाने थलो बनाएका छन् । विद्यालय अहिले स्थानीय जनप्रतिनिधिको निगरानीमा छ । तर हंसपुर नगरपालिका जनप्रतिनिधि निर्वाचित समयदेखि विवादित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्