यौन दुरव्यवहार गर्ने शिक्षक पक्राउ



ललितपुर : प्राथमिक स्कुलमा पढ्ने बालिकाहरूलाई यौन दुरव्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिक्षक नन्दप्रसाद निरौला रहेका छन् । उनलाई आज (बिहीबार) पक्राउ गरिएको हो । स्कुलका १९ जना बालिकाले आफूमाथि यौन दुरव्यवहार भएको भन्दै लेखेको निवेदनका आधारमा प्रधानाध्यापक सविता सिलवालले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महालक्ष्मी नगरपालिका ७, टीकाथलीस्थित श्रीनारायण आधारभूत विद्यालयका शिक्षक निरौलालाई अनुसन्धानका निम्ति ५ दिन म्याद थपिएको सातदोबाटो प्रहरी वृत्तका डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए । उनले भने,‘हामीले बुधबार निरौलाविरूद्ध पक्राउपुर्जी पायौं, आज (बिहीबार) बिहान पक्राउ गरी पाँच दिन म्याद लिएका छौं,’ स्कुलका ३ देखि ५ कक्षाका बालिकाले यही फागुन २ गते शुक्रबार निरौलाद्वारा यौन दुरव्यवहार भएको भन्दै प्रधानाध्यापकलाई निवेदन बुझाएका थिए ।

उनीहरूले हस्ताक्षरसहित लेखेको निवेदन

‘श्रीमान प्रिन्सिपल, हामी केटीहरूमाथि अन्याय-अत्याचार भएको छ । केटीहरूलाई ढाडमा सुम्सुम्याउने, छातीतिर छुन आउने, विभिन्न अगंहरूमा छुन आउने, नचाहिएको व्यवहार गर्ने, हामी यस्तो समस्यामा परेका छौं, हामी यस्तो अत्याचार सहन सक्दैनौं, नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकोले तपाईंहरूले छानबिन गरिदिन अनुरोध गर्दछौं ।’

यो खबर फैलिएपछि प्रहरीले शनिबार नै निरौलालाई पक्राउ गरेको थियो । कसैले उनीविरुद्ध उजुरी नदिएपछि दैनिक बिहान १० बजे चौकीमा हाजिर हुने गरी आइतबार बेलुकी तारेखमा छाडियो ।
निकै आलटालपछि विद्यालयकी प्रधानाध्यापक सिलवालले बुधबार दिउँसो सातदोबाटो प्रहरी वृत्तमा ‘आवश्यक अनुसन्धान तथा दोषीउपर कारबाही गरिपाऊँ’ भनी निवेदन दिइन् । त्यही निवेदन र प्रहरी प्रतिवेदनका आधारमा अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएको डिएसपी शर्माले जानकारी दिए ।

शिक्षक निरौलामाथि ९ देखि १४ वर्षका बालिकाहरूलाई यौन दुरव्यवहार गरेको आरोप छ । उनी त्यहाँ सामाजिक विषय पढाउँथे । निवेदन दिनेमा कक्षा ३ बाट ८ जना, ४ बाट ९ जना र ५ बाट २ जना विद्यार्थी छन् । थप ३ बालिकाले मौखिक रूपमा निरौलाविरूद्ध उजुरी दिएको प्रधानाध्यापकले सिलवालले जानकारी दिएकी छन् ।

विद्यार्थीहरूलाई केही समयअघि ‘असल छुवाइ र खराब छुवाइ’ बारे कक्षा दिइएको थियो । त्यसैबाट उनीहरूले शिक्षकको छुवाइ गलत रहेछ भन्ने बुझेका हुन सक्छन्,’ उनले भनिन् । विद्यार्थीले निवदेन दिएको केही दिनअघि मात्र अभिभावकहरूले आफ्ना छोरीले ‘नराम्रो शब्द’ सिकेको गुनासो ल्याएका थिए । प्रधानाध्यापक सिलवालका अनुसार उक्त गुनासो सम्बोधन अगावै विद्यार्थीहरूको निवेदन परेको हो । निवेदन परेपछि उनले विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएकी छिन् । ‘घटनालाई कसरी अघि लैजाने भन्ने विषयमा छलफल भयो,’ उनले भनिन्, ‘सुरूमा त आन्तरिक हिसाबमा सल्टाउने कुरा थियो ।’ पछि घटना छानबिन गर्न भन्दै ‘छानबिन समिति’ गठन गरियो । ३ सदस्यीय समितिमा विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र अमात्य, शिक्षक मिलन थापा मगर र अभिभावक सरिता शर्मा थिए । छानबिन समितिले के गर्यो भन्ने बुझ्न हामीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर कार्कीलाई सम्पर्क गरेका थियौं । पहिलो फोन संवादमा उनले ‘यस विषयमा केही बोल्नु छैन, फोन काट्नुस्’ भनेका थिए ।

पछि फेरि सम्पर्क गर्दा उनले भने, ‘अभिभावक र शिक्षक प्रतिनिधिसहितको छानबिन समितिले शिक्षक नन्दप्रसाद निरौलालाई निलम्बन गरेको छ ।’ आउँदो शनिबार निवेदन दिने विद्यार्थीका अभिभावकसमेतलाई बोलाएर छलफल गरिने उनले बताए । डिएसपी शर्माका अनुसार कसैले उजुरी नदिएपछि प्रहरीले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई चिठी पठाएको थियो । प्रहरीको चिठी नै आएपछि आफैं कारबाहीमा पर्न सक्ने देखेर उजुरी दिएको प्रधानाध्यापक सिलवालले बताइन् ।

यसअघि भने आफूलाई व्यवस्थापन समितिबाट उजुरी नदिन धम्क्याइएकाले अलमल भएको उनको भनाइ छ । ‘हिजो उजुरी नबुझाएको भए म आफैं कारबाहीमा पर्ने सम्भावना थियो,’ उनले भनिन्, ‘उजुरी नदिन समितिबाटै धम्की आइरहेको थियो । अहिले पनि किन दिइस् भनेर धम्क्याइरहेका छन् । घटनालाई स्कुलभित्रै सल्टाउने कुरा थियो सबैको ।’ बिहीबार बिहान पनि केही मान्छे लिएरै अध्यक्ष कार्की ‘हप्काउन’ आएको उनले बताइन् ।

‘मैले प्रहरीलाई सम्पर्क गरेपछि अलि अवस्था शान्त भएको छ,’ उनले भनिन्, ‘म कारबाहीमा परेँ भने यहाँ सबै खुसी हुन्छन् होला । दोषीलाई भन्दा मलाई पो कारबाही होस् भन्ने सोचमा छन् ।’ उनका अनुसार विद्यार्थीहरूद्वारा बुझाइएको निवदेन पनि ‘गायब’ पारिएको छ । निवेदन हराउनुमा समितिले आफूलाई नै दोषी ठहर्याएको बताउँदै उनले भनिन्, ‘निवेदन पाउने बित्तिकै मैले मोबाइलबाट फोटो खिचेकी थिएँ । मैले गायब बनाउने हुँदी हो त फोटो आफैं किन राखिराख्थेँ र ।’

उनले विद्यार्थीहरूको पूरा नामावलीसहित निवदेनको फोटो उपलब्ध गराएकी छिन् । सिलवाल २०७२ देखि श्रीनारायण स्कुलकी प्रधानाध्यापक हुन् । आरोपित शिक्षक निरौला २०७५ सालमा सरुवा भएर यहाँ आएका थिए । उनी ५० वर्षका छन् । त्यसअघि लाकुरी भञ्ज्याङको कालिदेवी आधारभूत विद्यालय र त्योभन्दा अगाडि पाटन माध्यमिक विद्यालयमा पढाउँथे । ‘उहाँको अघिल्ला सरुवा पनि यस्तै कारणले भएको रहेछ,’ सिलवालले भनिन्, ’अहिलेसम्म उहाँविरुद्ध कुनै कारबाही गरिएको थिएन । यस पटक भने कुरा अघि बढेको छ ।’ डिएसपी शर्माका अनुसार ‘उनीमाथि बाल यौन दुरव्यवहार मुद्दा चल्नेछ । कानुनी रूपमा अनुसन्धान सुरू भएको छ ।’

प्रतिक्रिया दिनुहोस्