जबर्जस्ती यौनधन्दामा लगाउने ३ जना पक्राउ



काँकडभिट्टा : शहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा ३ जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर-५ घर भई हाल मेचीनगर नगरपालिका-७ बस्ने ४४ वर्षिय तुलसी कट्टेल, सोही वडाका ५८ वर्षिय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर-६ का सूर्य भनिने श्यामप्रसाद शिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले मेचीनगर-७ स्थित प्यारीभिट्टामा ४ तले १६ कोठा भएको घर भाडामा लिएर युवतीलाई राख्ने र ग्राहकसँग मोटो रकम लिएर उनीहरुलाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान २० र २१ वर्षका महिलालाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको थियो । आफ्नो घर भक्तपुर र मोरङ बताउने २ युवतीलाई सोधपुछ गर्दा सो रहस्य प्रहरीले पत्ता लगाएको हो ।

उनीहरुले आफूलाई बन्धक बनाई घरमा राखेर ग्राहकसँग दिनभर यौनसम्पर्क गराउने र बेलुका विभिन्न होटलमा पुर्याउने गरेको बताएको छ । उनीहरुले दैनिक ५ देखि ६ जनासँग यौन सम्पर्क गराउन महिलालाई बाध्य बनाउँदै आएका थिए ।

यौन सम्पर्क गरे वापत प्रतिघण्टा ५ सय र रातको समयमा होटलमा पठाउँदा प्रति रातको २ हजार ५०० दिने प्रलोभन देखाई ती युवतीलाई यौन धन्दामा लगाउने र उनीहरुले भने १० हजारसम्म लिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

बुधबार पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीहरुलाई मानव बेचबिखन ओसारपसार विरुद्धको मुद्दा चलाइने छ ।

मानवविखन तथा ओसारपसार कसुरको अभियुक्तलाई १० देखि १५ वर्षसम्म कैद र २ लाखसम्म जरिवाना हुनेछ । युवतीको उद्धार गरी प्रहरीले काठमाडौंमा रहेको विश्वास नेपालको आश्रममा पुन : स्थापनाका लागि पठाउने तयारी गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्