कृषिलाई सहकारीसँग जोड्दै टोखा



काठमाडौं : काठमाडौंको टोखा नगरपालिकाले व्यावसायिक कृषिमा जोड दिएको छ ।

कृषि क्षेत्रको पकेट क्षेत्रका रुपमा मानिने टोखा नगरपालिकाले उक्त क्षेत्रभित्र उत्पादन हुने कृषि सामग्रीको अध्ययन गरी व्यावसायिक कृषिलाई जोड दिएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारी कृषि सामग्रीको उत्पादन बढाउन नगरपालिकाले कृषकलाई ट्याक्टर, बीउविजन र सिँचाइका सामग्री प्रदान गरेको बताए । “नगरपालिकाले सामग्री खरिद गरेर किसानमाझ पुर्याएका छौँ”, उनले भने । खरिद गरेको सामग्रीको ५० प्रतिशत रकम किसानले व्यहोर्ने गरी सामान खरिद गरेको नगरपालिकाले जनाएको छ ।

टोखाको झोर, चण्डेश्वरी, सपनतीर्थ, भत्केकोपुल क्षेत्र कृषिका लागि पकेट क्षेत्र मानिन्छ । टोखाले नगरपालिकाभित्रको कृषिको विकासका लागि चालू आर्थिक वर्षमा १४ लाख बजेट विनियोजन गरेको छ । यस्तै, चुन र भकारो सुधारका लागि १० लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख सुमित्रा पाठक समयअनुसारको कृषि सामग्री उत्पादनको लागि नगरपालिकाले प्राविधिक तालीम दिँदै आएको बताए । “वडाले माग गरेको कार्यक्रमको आधारमा हामी सबै वडासँग सहकार्य गरी कृषिकसमक्ष पुग्दै आएका छौँ”, पाठकले भने । टोखाले चालू आवमा व्यावसायिक तरकारी खेती, कौशीखेती र च्याउखेतीका लागि १२० जनालाई नि : शुल्क तालीम तथा बीउ वितरण गरेको छ । कौशीखेतीका लागि भने नगरपालिकाले हजारी, कोकोपीट, गमला र औजार वितरण गरेको छ ।

टोखाले बढी जनघनत्व भएको टोखा नगरपालिकाको ४ देखि ११ वडासम्म कौशीखेती र १ देखि ३ वडासम्म व्यावसायिक खेतीलाई सहयोग गर्दै आएको हो । टोखा नगरपालिकाले कृषकबाट उत्पादित सामग्रीलाई ग्राहकसमक्ष लैजानका लागि भण्डार गृह निर्माणलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाभित्र उत्पादित कृषि सामग्रीलाई सहकारीमार्फत अन्य स्थानसम्म लैजानका लागि ‘कृषि सहकारी केन्द्र’ आवश्यक रहेको टोखा नगरपालिका सहकारी शाखा अधिकृत कमला कार्की बताए ।

टोखा नगरपालिकामा हाल ६५ सहकारी सञ्चालनमा रहेका छन् । जसमध्ये बचत सहकारी ४७, बहुउद्देश्यीय ११, कृषि चार र उपभोक्ता एक छन् । काठमाडौं महानगरपालिका र अन्य स्थानको शाखाको रुपमा समेत टोखामा सहकारी सञ्चालन हुँदै आएको छ । जसको अनुगमन राष्ट्रिय सहकारी बोर्डले गर्दै आएको छ । टोखाले नगरपालिकाभित्र रहेका सहकारीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि बेलाबेलामा लेखापाल, वित्तीय व्यवस्थापक र सञ्चालकलाई तालीम प्रदान गर्दै आएको छ ।

नगरपालिकाले सहकारी क्षेत्रलाई कृषि उत्पादनसँग जोड्नका लागि सहकारीलाई व्यवसाय गर्न कृषकलाई उत्प्रेरित गर्दै आएको छ । टोखाले स्थानीय तह सहकारी ऐन २०७५ र सहकारी नियमावली २०७६ निर्माण गरिसकेको छ । नगरपालिकाभित्रका सहकारीले ठगी नगरोस् भनेर टोखाले बेलाबेलामा सबै सहकारीभित्र अनुगमन गर्दै आइरहेको छ । टोखाभित्रका सहकारीमा खराब ऋण नभएको नगरपालिकाले जनाएको छ ।

अहिलेसम्म टोखाभित्र रहेका कुनै पनि सहकारीले ठगी गरेको भन्ने उजूरी नगरपालिकामा नपरेको सहकारी शाखा प्रमुख कार्कीको भनाइ छ । टोखाले सहकारी तथा गरिबी सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्