बाँस्कोटा अडियो प्रकरण : बालकोट पुगेपछि बोले बाँस्कोटा, ‘सातवटा जोडेर अडियो बनाएको होला…’



तस्वीर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट साभार

काठमाडौं : सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएर बालकोट पुगेपछि अडियो प्रकरणबारे बोलेका छन्।

बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँस्कोटाले राजीनामा बुझाएर साँझ बालकोट पुगेका बाँस्कोटाले यस विषयमा बोलेका हुन्। कमशिन मागेको अडियो सार्वजनिक भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। एउटा राजनीतिक मान्छेमाथि प्रश्न उठेपछि ठ्याक्क राजीनामा दिएको उनको भनाइ छ। 

‘जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, के–के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो’, बाँस्कोटाले भने, ‘तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो।’ 

बाँस्कोटाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, संसद र पार्टीले छानबिन गरेर सत्यतथ्य स्पष्ट पार्ने बताएका छन्। 

‘यसमा अब अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ’, उनले भने, ‘मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु।’  

बाँस्कोटा प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि प्रधानमन्त्रीकै प्रेस सल्लाहकार सूर्य थापाको गाडी चढेर बालकोट पुगेका हुन् । उनले उनको गाडी र उनका सुरक्षा गार्डलाई बालुवाटारमा छोडेर निस्किएका थिए । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री  बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको थियो। सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिए पनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो। 
बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिइएको उक्त अडियोमा मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द पनि बोलेका छन्।

उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कियो भने कति हुन्छ ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला कि। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि।’ 
त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाईंलाई के गर्छन? छुट्टै गर्छन? मिश्रले भनेका छन्, ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।’

यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे ‘त्यो भनेको कति हुन्छ ? मिश्रले भने, ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि। आउट अफ ट्याक गइयो भने।’ अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्