आज महाशिवरात्रि मनाइँदै, साँझ ५ बजेर ४० मिनेटपछि शिवको आराधना, पूजा गर्दा उत्तम



काठमाडौं : आज फागुन कृष्ण चतुर्दशी, भगवान शिवको स्तुति र आराधना गरी मनाइँदैछ । आज (शुक्रबार) राति पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा धुनी बालेर महाशिवरात्रि पर्व मनाइँदैछ । यो रात शिवको आराधना गर्दा छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवबाट इहलोक र परलोक दुवैमा भक्तलाई शिवशक्ति प्राप्त हुन्छ भन्ने पुराण लगायतका ग्रन्थमा वर्णन गरिएको छ ।

बडादसैँ अघिको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि र महाशिवरात्रि गरी यी चार रातलाई अति महत्वको रातका रूपमा लिइएको छ । माघमा महादेवको रुद्रत्वले जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भएका रुख–बिरुवा, झारपात उनै महादेवको शिवत्व जगत्लाई कल्याण गर्ने तत्वले गर्दा पलाउने हुँदा फागुनमा शिवरात्रि मनाउने गरिएको हो पनि भनिन्छ ।

व्रतमध्ये सर्वश्रेष्ठ मानिएको यो दिन दूध, बेलपत्र, धतुरो चढाउने र रातभर जाग्राम रही शिवको स्तुति गर्दै व्रत बस्ने प्रचलन छ ।

काठमाडौंको पशुपतिनाथका साथै हाट सिंजा जुम्ला, नौलीगाउँ बझाङ, आमागाउँ रुपन्देही, कैलाशमाडौँ बाजुरा चतरामठ सुनसरी, खलङ्गा ब्राह्मणटोल प्यूठानमा चहलपहल हुनेगर्छ । यसैगरी लेगुवा धनकुटा, शेरेश्वर महादेव शोभागाउँ रुकुम, नर्वदेश्वर ओखलढुङ्गा, खोटाङको हलेसी, महोत्तरीको जलेश्वर, भक्तपुरको डोलेश्वर र अनन्त लिङ्गेश्वर, लमजुङको करापुटारमा अवस्थित सन्तानेश्वरलगायत मुलुकका सबै स्थानमा शिवरात्रि मनाइँदैछ ।

पशुपतिनाथ लगायतका शिवालयमा धेरै साधुको आगमन भइसकेको छ । पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबाले धुनी जगाएका छन् । कालमोचनघाटमा पनि हिमाञ्चल प्रदेश, हरियाणा, गया, काशीबाट धेरै साधुको आगमन भएको र यसमध्ये उत्कृष्ट साधुको जमात पनि धुनीमा रहेको पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीले जानकारी दिएका छन् ।

पर्वमा सुरक्षा व्यवस्थालाई महत्व दिइएको छ भने विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर राखिएको क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिएका छन् ।

कालमोचनको साधु अखडामा पनि साधुले धुनी जगाएका छन् । पशुपतिनाथमा रातको चार प्रहरै पञ्चामृतसहित अतिरुद्री र अन्य चार प्रकारका पूजा अतिरिक्त महादीप, अखण्डदीप, दीपोत्सव र लाख बेलपत्र अर्पण गरेर पशुपतिनाथको आराधना हुँदैछ । ज्योतिषी डा. सुनील सिटौलाका अनुसार शुक्रबार साँझ ५ः४० बजेसम्म त्रयोदशी परेकाले यो समयपछि शिवको आराधना, पूजा गर्दा उत्तम हुन्छ ।

यसैगरी यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक-एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

साथै तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

महाशिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजन र समग्र व्यस्थापनलाई मध्यनजर गरी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समिति –२०७६ गठन गरेको छ । यसवर्ष महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर मनाउन मन्त्रीकै अध्यक्षतामा समिति गठन भएको हो ।

यसैगरी सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट, स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था, स्वयंसेवा परिचालन एवं अनुगमन, सरकारी निकाय समन्वय, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्