
काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी आज काठमाडौं उपत्यकामासहित देशका विभिन्न स्थानमा हल्का वर्षा हुने उनले बताए ।
‘पश्चिमबाट मौसम सक्रिय भएकाले पश्चिमका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ ।’ उनले भने–‘आज दिउँसो–राति वर्षा हुन्छ, भोलीबाट विस्तारै मौसम सफा हुँदै जानेछ ।’
शुक्रबार बिहान ६ बजे निकालेको बुलेटिनमा राति देशभर आशिकदेखि सामान्य बदली रहने उल्लेख छ ।
आगामी तीन दिनको मौसम
फागुन ९ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।
फागुन १० गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ ।
फागुन ११ गते (आइतबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।