निर्मला पन्त प्रकरण : डीएनए परीक्षण नै शंकाको घेरामा



काठमाडौं: निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षणको प्रक्रिया नै त्रुटिपूर्ण भएको आशंका गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो । प्रतिवेदनले उक्त प्रयोगशालाबाट हाल निकालिएको नतिजाका आधारमा मात्रै अपराधी किटान सम्भव नहुने तर्कसमेत गरेको छ ।

पूर्वएआईजी विज्ञानराज शर्मा, फरेन्सिक विशेषज्ञ हरिहर वस्ती, डीएनए विज्ञ दिनेश झा, पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठक सम्मिलित टोलीले प्रतिवेदन तयार पारेको हो । विशेष स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनमा निर्मलाको भेजाइनल स्वाब (योनीभित्र हुने र्‍यालजस्तो तत्त्व) बाट लिइएको परीक्षणमा त्रुटि हुन सक्ने निष्कर्ष निकालेको हो ।

डीएनए नमुनाबाट अटोसोमल एसटीआर (महिला र पुरुष सबैमा पाइने क्रोमोजम) र वाई एसटीआर (पुरुषमा मात्र पाइने क्रोमोजम) दुवै निकाल्नुपर्नेमा प्रयोगशालाले वाई एसटीआर मात्रै निकालेको प्रतिवेदनमा उल्लेख छ । जबकि प्रहरीको विधि विज्ञान प्रयोगशालामा अटोसोमल एसटीआर निकाल्ने उपकरण छन् । अटोसोमल एसटीआरले व्यक्ति किटान गर्छ भने वाई एसटीआरले पुरुषहरूको समूह किटान गर्छ ।

प्रतिवेदनमा भनिएको छ, ‘एउटा मिश्रित नमुनामा विशेष प्रक्रियाद्वारा शुक्रकिट अलग्याई सोको डीएनए परीक्षण उपयुक्त हुन्छ । विश्वव्यापी रूपमा यो प्रक्रिया अपनाउने गरिन्छ । यसबाट अपराधीको आवश्यक डीएनए प्रोफाइल प्राप्त हुने भए निजको पहिचान सम्भव हुन्छ । यस केसमा उक्त प्रक्रिया नअपनाएका कारण महिला र पुरुषको डीएनए मिश्रण हुन गएको छ । फलस्वरूप पुरुषको वाई एसटीआर परीक्षण मात्र सम्भव भएको छ ।’

प्रहरीको विधि विज्ञान प्रयोगशालाका प्रमुख एवं डीएनए विज्ञ एसपी राकेश सिंहको नेतृत्वमा स्वाब परीक्षण भएको थियो । यो तथ्यले भेजाइनल स्वाबको परीक्षणका क्रममा प्रहरीको विधि विज्ञान प्रयोगशालामा त्रुटि भएको संकेत गर्दछ । प्रतिवेदनले हाल प्रयोगशालाबाट निकालिएको डीएनए नतिजाका आधारमा मात्रै वास्तविक अपराधी पत्ता लाग्न नसक्ने निष्कर्ष निकालेको छ ।

किनकि डीएनएबाट निकालिएको वाई एसटीआर मात्रै अपराधी पहिचानको अकाट्य आधार हुन नसक्ने डीएनए विज्ञको बुझाइ छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक जीवन रिजालले भने, ‘अटोसोमल एसटीआर ननिकालिकन वाई एसटीआरका आधारमा मात्रै अपराधीको किटान गर्न सकिँदैन ।’ रिजालले वाई एसटीआरले पुरुषको एउटा तत्त्व मात्रै थाहा हुने र यस्तो तत्त्व सगोलका दुई–तीन पुस्ताका अन्य पुरुष सदस्यसँग पनि मिल्न सक्ने बताए । उनले भने, ‘वाई एसटीआरको मात्रै नतिजा बाँकी छ भने डीएनए परीक्षणकै आधारबाट अपराधी पहिचान गर्न धेरै नै कठिन हुन्छ ।’

आयोगलाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘यस केसमा भेजाइनल स्वाब नमुनाबाट प्राप्त १६ वटा वाई एसटीआर नतिजा आगामी दिनमा कुनै आरोपीसँग मिलेमा निज अपराधी भएको एकमात्र बलियो आधार हुन सक्दैन । वाई एसटीआर मिलेको अवस्थामा मात्रै राय दिन सजिलो हुँदैन । नेपालमा एक अध्ययनमा फरक भौगोलिक क्षेत्र, फरक थर भएका व्यक्तिबीच १५ वटासम्म वाई एसटीआर मिलेका छन् ।’

समितिका एक सदस्यले प्रहरीको विधि विज्ञान प्रयोगशालाले अटोसोमल एसटीआर निकाल्न सकेन कि निकालेन भन्नेबारे स्पष्ट आधार नमिलेको बताए । कान्तिपुरसँगको सम्पर्कमा आएका विधि विज्ञान प्रयोगशालाका एक विज्ञले अटोसोमल एसटीआर निकाल्न नसकिएको अवस्थामा किन प्रहरीको भन्दा राम्रो मानिएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना पठाइएन वा विदेशका गुणस्तरीय प्रयोगशाला पठाउने बाटोतर्फ गइएन भन्ने प्रश्न उठ्नु अस्वाभाविक नभएको बताए ।

प्रतिवेदनमा भनिएको छ, ‘बडु थरका आरोपी र निर्मला पन्तका बीच शतप्रतिशत वाई एसटीआर मिलेको छ । वाई एसटीआरबाट मात्रै व्यक्ति किटान सम्भव हुँदैन । शतप्रतिशत मिलेको अवस्थामा सो नमुना अन्य व्यक्तिमा भए नभएको र कति जनामा भएको तथ्यांक निकाल्नुपर्ने हुन्छ । प्रतिवेदनको यो तथ्यले प्रहरीको विधि विज्ञान प्रयोगशालाले निकालेको निष्कर्षका आधारमा मात्रै जतिजना शंकास्पदहरूको डीएनए परीक्षण गरे पनि निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीको पहिचान सम्भव देखिँदैन ।

नमुना सुरक्षित नराख्नु गल्ती : विज्ञ

विधि विज्ञान प्रयोगशालामाथि उठेको अर्को शंका भनेको भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिनु पनि हो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक रिजालले भेजाइनल स्वाबबाट निकालिएको नमुना जस्तोसुकै भए पनि सुरक्षित नराख्नु गल्ती भएको बताए ।

प्रहरीका अनुसार निर्मलाको योनीको बाहिरी, मध्य र भित्री भागबाट तीन फरक–फरक स्वाबको नमुना परीक्षणका निम्ति प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले यी तीनै नमुना परीक्षणका क्रममा सकिएको बताएको छ । रिजालले भने, ‘कमजोर नै भए पनि नमुना बाँकी रहेको भए विदेशका प्रयोगशालामा पठाउन सकिन्थ्यो । अब त त्यो सम्भावना पनि अन्त्य भएको छ ।’ प्रतिवेदनले पनि नमुना सुरक्षित किन राखिएन भन्ने शंका उठाएको कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्