जनकपुरधामका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भीड



जनकपुरधाम : आज (शुक्रबार) महाशिवरात्रि । हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पुजापाठ गरी महाशिवरात्रि पर्व मनाउँदै छन् । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइन्छ ।

आज बिहान र दिनभर त्रयोदशी तिथी भएपनि रातको समय चतुर्दशी भएकाले यसै दिनलाई महाशिवरात्रि मानिएको हो ।

महाशिवरात्रिको अवसरमा बिहानैदेखि जनकपुर लगायत आसपासका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । जनकपुरको शिवचोकस्थित शिव मन्दिर, कपिलेश्वर नाथ, कुपेश्वर नाथ, क्षिरेश्वरनाथ लगायत जलेश्वरस्थित जलेश्वरनाथ मन्दिरमा पनि बिहानैदेखी भक्तजनहरुको भीड लागेको छ ।

जटाधारी, निलकण्ठ, भोले बाबा, देवादी देव महादेव, शंकर, कैलाशपतिलगायत विभिन्न नामले पुकारिने शिवको प्यारो दिन भनेर महाशिवरात्रिलाई मानिन्छ ।

पार्वतीसँग विवाह भएको दिनका रूपमा पनि लिइने यस दिनलाई शिवभक्तले विशेष महत्वको रुपमा मनाउने गरेका छन् ।

महाशिवरात्रिको अवसरमा जनकपुरधामका बिभिन्न युवा क्लबहरुले भक्तजनहरुको सुविधालाई ध्यानमा राख्दै शिव मन्दिरहरुमा राम्रो व्यवस्थापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्