१८ दिनदेखि पञ्चदेवल विनायक नगरपालिका बन्द हुँदा सेवाग्राही मर्कामा



अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा नगरबासीहरुलाई सास्ती भएको छ ।

माघ २३ गतेदेखि नगरका सम्पूर्ण सेवा बन्द हुँदा स्थानीयहरु सेवा लिनबाट बञ्चित भएका हुन् । नगर कार्यपालिकाले माघ २३ को बैठकमा वडा अध्यक्ष पदमबहादुर धामीको हत्यारा पत्ता नलाग्दासम्म सबै सेवा अनिश्चितकालिन बन्द गर्र्ने निर्णय गरेको थियो ।

नगरपालिका कार्यालयका ९ वटा वडाहरू पूर्णरूपमा बन्द हुँदा सेवाग्राहीका अत्यावश्यक सिफारिस, प्रदेशको समपूरक र विशेष योजनाको अवधि समाप्त हुँदासमेत योजना सिफारिस गर्न नपाइएको बताइएको छ ।

बन्दका कारण तथ्यांक प्रविष्टी, नगरपालिकाको योजना तथा विकास निर्माणका कामको सम्झौतासँगै भुक्तानीका काम रोकिएको प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले बताए । वडाको सेवा लिन एक दिनमा १० जनाभन्दा बढीले फोन नै गर्ने गरेको उक्त नगरपालिका-३ का वडा अध्यक्ष सुरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

उनले भने, ‘अब केही दिनमा हुन्छ भनेर टार्ने काम भएको छ । नगरको निर्णय मान्नै पर्यो ।’ मृतकका आफन्तको दबाबमा नगरका काम बन्द गरिएकोले उनीहरूसँग समन्वय गरेर नगरको काम सुचारु गर्न पहल गरिने नगरप्रमुख देवराज देवकोटाले जानकारी दिए ।

उनले भने,‘केही दिनमा अछाम आएर नगर बन्द खुलाउने पहल गर्छु’ कार्यपालिकाबाटै नगरका सबै काम बन्द गर्ने निर्णय भएकाले कार्यपालिकाकै बैठकले निर्णय गर्नुपर्ने भएको प्रशासकीय अधिकृत माझीको भनाई छ ।

सीआइबी, तालिम प्राप्त कुकुर र अछाम प्रहरीको टोलीले घटनाकाबारेमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीले बताए । सोही नगरपालिका-२ स्थित गैरीगाउँमा छिमेकीको भैँसीगोठमा वडा अध्यक्ष धामीको शव माघ २१ गते बिहान फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्