६ महिनादेखि बन्धक बनाई राखिएका २ जना युवतीको उद्धार



परासी : भारतमा ६ महिनादेखि बन्धक बनाई राखिएका २ जना नेपाली युवतीलाई गए राति उद्धार गरिएको छ ।

पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

आफ्ना छोरीलाई बन्धक बनाई राखिएकाले उद्धार गरिदिनु भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

उनले भने, “युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरुको खोजी भइरहेको छ” उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदीबहिनी हुन् । एक महिलाले पसलमा राम्रो काम लगाइ दिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिने, अर्केष्ट्रामा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरुले घरमा खबर गरेको उनीहरुकी आमाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्